विश्व वातावरण दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ जेठ २२, शनिबार

आज जुन ५, विश्वभरी विभिन्न किसिमले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईँदैछ ।
यो वर्ष पर्यावरणीय प्रणाली पुनस्र्थापनालाई आधार बनाउँदै विश्व वातावरण दिवस मनाईँदैछ । दिवसको यस पालिको नारा ‘पुनर्निर्माण गरौं, पुनस्र्थापना गरौं, पुनर्स्थापना गरौं’ तय गरिएको छ ।
दिवसको अवसरमा आज वातावरणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् । नेपालमा निषेधाज्ञाको अवस्थामा भौतिक उपस्थितीमा कार्यक्रम आयोजना गर्न नसकिने अवस्थामा भर्च्युअल कार्यक्रमहरु आयोजना भएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले महामारी पछिको दिगो शहरीकरण विषयक भर्च्युअल अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, पूर्वमन्त्री गणेश शाहलगायत विभिन्न वक्ताहरुले आ–आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ ।
त्यस्तै सिफेड, गुथि र ख्वप कलेजको संयुक्त आयोजनामा रासायनिक सुरक्षा, वातावरण र पर्यावरणीय प्रणाली पुनस्र्थापना विषयक भर्च्युअल अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।
वातावरण संरक्षणका लागि राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
गत वर्ष झैं यस वर्ष पनि विश्व वातावरण दिवसलाई महामारी र बन्दाबन्दीको अवस्थाले प्रभावित त बनाएको छ । तर निषेधाज्ञामा प्राय कलकारखानाको साथमा सवारी साधनहरु बन्द रहँदा वातावरण भने स्वच्छ बनेको छ ।
Categorized in समाज