जनसंख्या दिवसमा प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव सम्वन्धी चर्चा
SamacharDesk – बिराज | २०७८ आषाढ २७, आइतबार

आज जुलाई महिनाको ११ तारीख, विश्वभरी विभिन्न किसिमले विश्व जनसंख्या दिवस मनाइन्छ ।
यस वर्षको जनसंख्या दिवस ‘प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव’ भन्ने विषयमा केन्द्रीत रहेको छ । कोभिड १९ महामारी र प्रजनन क्षमतासँग सम्वन्धित रही विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै विश्वभरी विश्व जनसंख्या दिवस मनाईँदैछ ।
दिवसको अवसरमा आज विश्वका विभिन्न देशमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदैछ । संक्रमणको त्रासबाट मुक्त देशहरुमा भौतिक उपस्थितीमै कार्यक्रम हुँदैछ भने संक्रमणको जोखिम रहेका देशहरुमा भर्च्युअल कार्यक्रमहरु हुँदैछन् ।
नेपालमा पनि कोरोना महामारीमा संक्रमणको जोखिमका बीच कुनै कार्यक्रमहरु आयोजना हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिवसका अवसरमा सामाजिक संजालमार्फत सन्देश जारी गरेको छ । मन्त्रालयबाट जारी सन्देशमा कोरोना महामारीका कारण यौन तथा प्रजनन् सेवा प्रणालीमा असर परेको जनाएको छ ।
‘यस विश्व जनसंख्या दिवसमा जनसंख्या सम्वन्धी मुद्दाहरु, विशेष गरी परिवार योजनाको महत्व, लैङ्गिक समानता, मातृ स्वास्थ्य र मानव अधिकारका बारेमा जनचेतना बढाऔं’ मन्त्रालयबाट जारी सन्देशमा लेखिएको छ ।
अत्यधिक जनसंख्याले वातावरण र विकासमा पुर्याउने असरबारे जागरुक हुन पनि मन्त्रालयले आह्वान गरेको छ ।
विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतूले सन् १९८९ बाट विश्व जनसंख्या दिवस मनाउन थालिएको हो ।
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा आयोजित ‘पपुलेशन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो ।
हालको तथ्याङ्क अनुसार विश्वभरीको जनसंख्या ७ अर्ब ८७ करोड ८५ लाख ३० हजारभन्दा बढि रहेको छ । १ अर्ब ४३ करोड ९३ लाख २३ हजार बढि जनसंख्या चाइनामै छन् भने भारतको जनसंख्या एक अर्ब ३८ करोड बढि रहेको छ ।
विश्वका कुल जनसंख्यामध्ये १८ करोड ७२ लाख ७९ हजार बढि कोभिड १९ बाट संक्रमित भइसकेका छन् । तीमध्ये १७ करोड १२ लाख ५४ हजार बढि संक्रमणमुक्त पनि भइसके भने ४ं० लाख ४२ हजार बढिले कोभिड १९ कै कारण ज्यान गुमाइसके ।
नेपालको जनसंख्या भने २ करोड ९१ लाख बढि रहेको छ ।
नेपालमा यो २०७८ जनगणनाको वर्ष पनि परेको छ । २०७८ सँगै शुरु गरिने भनिएको जनगणना कोरोना महामारीका बीच अहिले अवरुद्ध छ ।
विश्वभरीको जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाउनु आजको मुख्य चुनौती बनिरहेको छ ।
Categorized in समाज