आज विश्व बाघ दिवस
SamacharDesk | २०८१ श्रावण १४, सोमबार

आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो।
पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथै बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन लगायतका विषयमा केन्द्रीत भई यो दिवस मनाउने गरिन्छ।
यो वर्षको विश्व बाघ दिवस ‘मानव बाघ सहअस्तित्व र समृद्धि’ नाराका साथ मनाउन थालिएको छ। पाटे बाघ नेपाल सहित विश्वका १३ देशमा पाइन्छन् ।
दुई वर्षअघि सन् २०२२ मा गरिएको गणनाअनुसार नेपालमा अहिले बाघको संख्या तीन सय ५५ पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार चितवनमा १ सय २८, बर्दियामा १ सय २५, बाँकेमा २५, शुक्लाफाँटामा ३६ र पर्सामा ४१ वटा पाटेबाघ छन् ।
बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधार लगायतका विषय चुनौती बनेका छन् ।
बाघको संरक्षण सँगै बासस्थान सुधार र व्यवस्थापनमा ध्यान दिन विज्ञहरुले आग्रह गर्दै आएको छ ।
Categorized in समाज