arin enterprises

विश्व पानी दिवस : “शान्ति र समृद्धिका लागि पानी”

SamacharDesk – राम डंगोल | २०८० चैत्र ९, शुक्रबार

“शान्ति र समृद्धिका लागि पानी” भन्ने नारासहित आज विश्वभर पानी दिवस मनाईंदै ।

हरेक वर्षको मार्च २२ तारिखका दिन मनाइने यो दिवस नेपालमा पनि सरकारी तथा गैर सरकारी संस्थाहरुले विविध जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।

विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यो दिवसको घोषणा गरेपनि १९९३ मा प्रथम विश्व पानी दिवस मनाइको थियो ।

नेपालको सन्दर्भमा गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको तथ्यांक रहेको छ ।

१५ औँ पञ्चवर्षीय योजना ९२०७६/७७–२०८०/८१० मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेको छैन ।

राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीकै समस्या छ । अझ काठमाडौंवासीहरुले पानीको समस्या वर्षौंदेखि झेलिरहेको छ ।

दिनदिनै काठमाडौंमा जनघनत्व बढेसँगै मेलम्ची जस्ता ठूला आयोजनाले पनि धान्न नसक्ने अवस्था रहेको छ । विगतलाई मध्यनजर गर्दै सुरु भएको मेलम्ची आयोजना अहिले आएर काठमाडौंमा जनघनत्वमा दोब्बर वृद्धि भएपछि पानीको समस्या झन् विकराल बनेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको मेलम्चीको पानी वितरणमा पनि निरन्तरता नहुँदा काठमाडौंवासीहरु हैरान भइसकेका छन् । कहिले सुरुङ भत्किने समस्याले बन्द गर्नुपर्ने कहिले सुख्खायाममा पानीको कमीले आयोजना बन्द गर्नै जस्ता कारणले मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीहरुका लागि “कागलाई बेल पाक्या, हर्ष न विस्मात्” सरह भएको छ ।

हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ ।

पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतसमेत प्रदूषित भएका छन् ।

स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ ।

Categorized in राष्ट्रिय