arin enterprises

आर्थिक समस्याका कारण तलेजुको पूजा संकटमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २६, बिहिबार

जुनै कुरा गरौं, आर्थिक पक्ष त जोडिएकै हुन्छ । भगवानको पूजाकै कुरा गरौं, केही ठुलो वा सानो धनराशीको आवश्यकता त हुन्छ नै ।

भगवानको साधारण पूजा मात्र नै किन नहोस्, चन्दन, सिन्दुर, केही अक्षता, केही फुल र यी सामग्रीको लागि केही रकमको आवश्यकता पर्ने भइहाल्यो ।

अझ अलि ठृलो पूजा वा ठुला मन्दिरको पर्व पूजा इत्यादिका लागि त अलि ठुलै धनराशीको आवश्यकता हुन्छ । यस विषयमा हाम्रा पुर्खाहरुलाई दुरदर्शी नै मान्नुपर्छ ।

ठुला पर्वपूजा, नित्य पूजा आदि सबैको लागि जग्गा लगायतका आयस्ता राख्दै हाम्रा पुर्खाहरुले त्यो बेलामै गुठी जस्तो संगठन पनि बनाएर गए ।

तर ती परम्परागत गुठी र गुठीसँग जोडिएका सम्पत्तिहरुको उचित व्यवस्थापन हुन नसक्दा आज धेरै धार्मिक, सांस्कृतिक गतिविधिको निरन्तरतामा समस्या आइरहेको अवस्था छ ।

यस्तै समस्या भइरहेको त आज ललितपुरको तलेजु भवानीसँग जोडिएका धार्मिक, सांस्कृतिक गतिविधिहरुको निरन्तरतामा । आर्थिक समस्याकै कारणले तलेजु भवानीको नित्य र पर्व पूजाको निरन्तरतामा समस्या देखिएको छ ।

आर्थिक समस्याका कारण तलेजु भवानीका ठुला पूजाहरुको निरन्तरताका लागि निकै गार्‍हो भइरहेको बताउनुहुन्छ ललितपुर तलेजुका पूजारी निरण ज्वालानन्द राजोपाध्याय ।‘पुस्तौंदेखि हाम्रा बाउबाजेले देवीप्रतिको आस्था र श्रद्धा राख्दै पूजा गर्दै आएका छन्, यहि आस्था र श्रद्धाकै कारणले मात्र हामीले पनि आजसम्म यसलाई निरन्तरता दिइरहेका छौं ।

आर्थिक पक्षलाई हेर्ने हो भने बन्द हुने अवस्थामा पुगिसकेको छ’ पूजारी निरणले भने । हाल तलेजु भवानीको पूजाआजाको लागि गुठी संस्थानले व्यवस्था गर्दै आएको छ ।

विगतमा कुमारीचोकबाट क्षनुदलले रकम दिने गरिन्थ्यो । गुठि संस्थानको स्थापनापछि तलेजु भवानीको नाममा भएका जग्गा जमिन जतिपनि थिए, सबै गुठि संस्थानमै गएको छ ।

त्यसपछि पूजा इत्यादिको लागि आवश्यक जिन्सी नगद सबै गुठि संस्थानले नै दिने गरेको छ । गुठि संस्थानबाट आउने रकमले केही पनि गर्नलाई नपुग्ने निरणको भनाई छ ।

तलेजु भवानीको नित्य पूजा, पर्व पूजालगायतका सांस्कृतिक गतिविधि संचालनका लागि अन्तिम पटक बि.सं. १९२५ सालमा दरबन्दी छुट्याइएको पूजारी निरणले जानकारी दिनुभयो ।

‘सो दरबन्दी अनुसार दशैं पूजा संचालनको लागि १९३ रूपैया ८२ पैसा दिइएको थियो । त्यस्तै श्रीपञ्चमीका लागि ५ रूपैया, थापूजाको लागि २० रूपैया २० पैसा छ ।जेष्ठ शुक्ल दशमीको बर्षबन्धन अर्थात बुसादँ पूजाको लागि ७ रूपैया जति मात्रै छ’ निरणले भने । जिन्सिको हकमा चामल, चिउरा, बोडी, मासलगायतका सामग्री ठेकेदारबाट उपलब्ध हुने गर्दछ, जुन अचेल निकै कमसल खालको आउने गरेको राजोपाध्यायले गुनासो गरे । राँगा, बोका, हाँस भने गुठि संस्थानबाट नै आउने गरेको छ ।

गुठी संस्थानबाट उपलब्ध हुने नगद, जिन्सी परम्पराको निरन्तरताका लागि अपुग भएको र अर्को आयश्रोत केही पनि नभएको अवस्थामा समस्या भएको राजोपाध्यायको भनाई छ ।

आज तलेजु भवानीको बुसादँको अवसरमा पूजामा सहभागी हुन पुगेका लतिलपुर महानगरका मेयर र उपमेयरको अगाडी राजोपाध्यायले यी सबै समस्याको पोको बिसाएका थिए ।

 

समस्या सबै सुनिसकेर महानगर प्रमुख र उपप्रमुखले समस्या समाधानका लागि पहल गर्ने आस्वाशन दिएर गएका छन् । ‘समस्यालाई समाधानतर्फ लग्नको लागि यसबारे वृहत् छलफल गरौं ।

महागनरका मूर्त, अमूर्त सम्पदाको संरक्षण महानगरको दायित्त्व भित्र पर्छ र हामी आफ्नो दायित्त्वबाट पन्छिने छैनौं’ महानगर प्रमुख चिरिबाबु महर्जनले भने ।

समस्या सुन्ने र आश्वासन दिने मात्र होइन, प्रतिवद्धता पूरा गर्नेतर्फ पनि जनप्रतिनिधिले सक्रियता देखाउनुपर्छ ।

नेपालको पहिचान बनेका यस किसिमका धर्म, परम्परा, संस्कृतिको निरन्तरता, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय सरकारको साथै साथै हरेक सरोकारवाला तह, निकायबाट पहल हुनु जरुरी छ ।

Categorized in संस्कृति
SKIP THIS maharjan complex bumper adv