गृहमन्त्री रमेश लेखकबाट केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण
SamacharDesk – बिराज | २०८२ श्रावण १८, आइतबार

गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण भम्रण गरेका छन् । आइतबार ब्यूरोको निरिक्षण गर्दै गृहमन्त्री लेखकले ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सीमित स्रोत साधनको बाबजूद ब्यूरोले निर्वाह गरेको महत्वपूर्ण कार्यहरू प्रशंसनीय रहेको बताए ।
आगामी दिनमा ब्यूरोलाई थप प्रभावशाली, क्रियाशील एवम् प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए ।
लेखकले उपलब्ध सीमित प्रविधि र कानूनी जटिलताका कारण घेरै अपराधहरूको अनुसन्धानमा बाधा पुगेको उल्लेख गर्दै देखिएका कानूनी जटिलता समाधान गर्न र ब्यूरोलाई स्रोत साधन सम्पन्न बनाउन मन्त्रालय सदैव कटिबद्ध रहेको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले जटिल र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी बोकेको ब्यूरोले सीमित स्रोत साधनका बाबजूद पनि प्रभावकारी रूपमा जिम्मेवारी वहन गर्दै आइरहेको बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, ब्यूरोबाट गरिएका कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, प्रहरी नायव महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय