कृष्णाष्टमीकै दिन बलिसहित विन्दबासिनीको पूजा
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७९ भाद्र ३, शुक्रबार

आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । आजको दिनमा संसारभरीका हिन्दु धर्मावलम्बीहरु भनौं अथवा वैष्णव अथवा कृष्णका अनुयायीहरु श्री कृष्णलाई विषेश रुपले पूजा गर्ने गर्छन् ।
आज कृष्णको जन्मदिन भनेर धेरैलाई थाहा भएपनि आजै विन्दबासिनीको पनि जन्मदिन हो भनेर कमैलाई मात्र थाहा होला । आजै कतै विन्दवासिनी त कतै महामाया त कतै महालक्ष्मी भनेर आजै बलि पूजासहित विन्दवासिनीको पनि जन्मदिन मनाउने गरिन्छ ।
को हुन् विन्दबासिनी?
महाभारतको कथा अनुसार द्वापरयुगमा वसुदेव र देवकीको आठौं सन्तानले कंशको वध गर्नेछ भनी आकाशवाणी भएपछि कंशले दुवैलाई जेलमा थुनिदिन्छ । र एक, दुई हुँदै वसुदेव, देवकीको सन्तानहरुको जन्म हुँदै जान्छ र कंशले सबैको वध गर्दै जान्छ ।
आठौं सन्तानको रुपमा जेलभित्रै कंशका सेनाहरुको कडा पहराको बीच कृष्णको जन्म हुन्छ । त्यहि समयमै गोकुलमा नन्द र यशोदाको कोखबाट एक कन्याको जन्म भएको थियो । तिनी नै विन्दबासिनी थिइन् ।
कृष्णसँगै पहरेदारहरू सबैलाई मोह निद्राले ढाक्यो । मोहले छोपिएका बसुदेव कृष्णलाई बोकेर गोकुल तिर लाग्छन् । ठुलो वर्षा, बाढिका बीच कृष्णलाई टाउकोमा बोकेर वसुदेब गोकुल पुग्छन् ।
त्यहाँ कृष्णलाई यशोदाको साथमा छोडेर यशोदाको कोखबाट जन्मभएकी बालिका रुपी बिन्दवासिनीलाई बोकेर मथुरा फर्कन्छन् । प्रसव पिडाका कारण यशोदाले कन्याको जन्म भएको पनि थाहा पाइनन् ।
यता वसुदेव मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत नेलसहित बन्दी नै भए । जेल पुगेर केही छिन पछि बालीका जोड जोडले रुन थालिन् । बालिकाको रुवाई सुनेर पहरेदारहरूको मोह निद्रा खुल्यो ।
त्यहाँ नवजात बालिकाको जन्म भइसकेको देखेर एक सेना दौडेर गइ कंशलाई खबर गर्यो ।
त्यसपछि कंश जेलघरमा आइ बालिकालाई देवकीको हातबाट खोसेर हत्या गर्न खोज्दा बालिका आकाशमा उडेर गइन् र देवकीको आठौं सन्तानले जन्म लिएर सुरक्षित ठाउँमा पुगिसकेको बताएर अन्तध्र्यान भइन् ।
ती बालिका नै महाशक्ति योगमाया दुर्गा भगवतीको अवतार बिन्दवासिनी थिइन् ।
आजको दिन बलिसहित विन्दबासिनी पूजा ?
आजको दिन सबैले कृष्ण भगवानलाई सात्विक भोजन चढाएर पूजा गर्दै कृष्ण जन्माष्टमी मनाइन्छ । तर आजकै दिन जन्मेकि महामाया (विन्दबासिनी) को पनि उपत्यकाका तीनैवटा तलेजुमा बलि र पञ्चमकारसहित पुजा गर्ने परम्परा रहेको छ ।
ललितपुरका तलेजु पूजारी रक्षण राजोपाध्यायका अनुसार आज तलेजुमा बलिसहित पूजा गर्दै विन्दबासिनीको जन्मोत्सव पनि मनाइन्ट ।
पूजाको क्रममा हाँस, छाग (बोका) र राँगोको बलि दिएर विन्दबासिनीको पूजा गर्ने चलन रहेको पाटन तलेजु पूजारी रक्षणको भनाई छ ।
यसैगरी भक्तपुरमा पनि बलिसहित विन्दबासिनीको पूजा गर्ने चलन रहेको भक्तपुरका संस्कृतिविद् मृगेन्द्रराज सुवेदीले बताए । सुवेदीका अनुसार आजको दिनमा भक्तपुर तलेजुमा पनि हाँस, छाग र महिष बलि दिएर त्रिपुरासुन्दरीको तीन रुपको पूजा गर्ने गरिन्छ ।
ती तीन रुपमध्ये दिउँसो भने विन्दबासिनीको रुप मानिन्छ । नवमीको दिनमा भने ‘स्वां क्वकायेगु’ पूजा गरिन्छ ।
काठमाडौ तलेजुका मूलपूजारी उद्धव कर्माचायका अनुसार आजको दिनमा तलेजुमा कृष्णको जन्ममा कुनै विघ्न नआओस भनेर भगवान कृष्णको नाममै हाँस, छाग र महिषकै बलि दिएर पूजा गरिन्छ ।
भगवान कृष्णकै जन्मसँग जोडिएको पूजा भएकोले यो मल्लकालीन मात्र नभई तलेजु भवानीलाई नेपाल नल्याउँदै दक्षिण भारतदेखि नै यो पूजा चल्दै आएको मान्न सकिने पूजारी कर्माचार्यको दावी छ ।
यस पूजामा महालक्ष्मीको पूजा हुने कर्माचार्यको भनाई छ । महालक्ष्मी भन्नाले महामाया हुन् र विन्दबासिनीलाई महामायाकै रुपमा लिने गरिन्छ । त्यसैले काठमाडौंको पूजाको पनि ललितपुर र भक्तपुरकै पूजासँग समानता रहेको मान्न सकिन्छ ।
सुन्दा अचम्म लाग्न सक्छ कृष्ण जन्माष्टमीको दिन सात्विक भोजन चढाउँदै कृष्णको पूजा भइरहँदा कृष्णसँगै गोकुलमा जन्मेकि महामाया रुपी विन्दबासिनीको भने बलि र पञ्चमकारसहित पूजा हुन्छ ।
कृष्णको पूजा तामझाम र धुमधामका साथ भइरहँदा विन्दबासिनीको पूजा भने हामीले गर्न बिर्सेका छौं । अब अर्को सालबाट विन्दबासिनीलाई सम्झिँदै उनको जन्मदिनलाई पनि उत्सवको रुपमा मनाउने कि ?
Categorized in संस्कृति