arin enterprises

“यात्री” ले पाउने भयो मान्यता

SamacharDesk | २०८० बैशाख १४, बिहिबार

नेपालमा निर्मित सवारी साधनहरु अब दर्ता हुने भएको छ । केही समय अगाडि नेपालमा निर्मित मोटरसाइकल यात्रीले दर्ता समेत गर्न नपाएपछि कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आएपछि उक्त विवाद उत्कर्षमा पुगेको थियो ।

दर्ता नै नपाएको सवारी साधन सडकमा गुडाउँदा ट्राफिकहरुको निक्कै हैरानी खेप्नु परेको थियो । यसरी नेपालमै विद्युतीय सवारी साधन बनाएर देशलाई स्वरोगार सिर्जना गर्ने कम्पनी दर्ता प्रक्रिया समेत नहुने भनेपछि कम्पनी नै बन्द हुनेसम्मको अवस्थामा पुगेको थियो ।

जसको विरोध सामाजिक सञ्जालदेखि संसदमा समेत भएको थियो । स्वदेश उत्पादनलाई नियम कानून चाँडै बनाउन दबाब स्वरुप नेपाल आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनको संयोजकतत्वमा विरोधका कार्यक्रमहरु समेत भएको थियो ।

अब भने नेपालमै बनेका नयाँ सवारीसाधनको दर्ता, लिलामी दर्ता, नामसारी लगायत व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा समेटिएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरिएको जानकारी दिएको छ । योसंगै लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता पाउने भएका हुन् ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था, कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो ।

योसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो ।

Categorized in बिजनेस