च्यासिस भाँचिएको मोटरसाइकलबारे यात्रीको स्पष्टिकरण
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ ९, मंगलबार

बिच बाटोमा यात्री मोटरसाइकलको च्यासिस भाँचिएको फोटो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
प्रायले नेपालको उत्पादनको अवस्था भन्दै च्यासिस भाँचिएको यात्रीको पि वान मोटरसाइकलको फोटो शेयर र कमेन्ट गरिरहेका छन् । कतिले यात्रीको गुणस्तरलाई लिएर आलोचना गरेका छन् भने कतिले सुरुवाती अवस्थामा कमजोरी रहनु स्वाभाविक भन्दै सुधारको लागि सुझाव दिएका छन् ।
यसै बिच यात्री मोटरसाइकल उत्पादक कम्पनीले सो मोटरसाइकलको बारे स्पष्टिकरण दिएको छ ।
यात्री मोटरसाइकलले सामाजिक संजालमार्फत विज्ञप्ती जारी गर्दै ग्राहकले किनेको वा विक्री भएको मोटरसाइकल नभई परिक्षणका लागी प्रयोग गरिएको जनाएको छ ।
बाइकमा भविष्यमा गर्न सकिने पुनरावृत्ति र नयाँ डिजाइनकोलागि, लगातार नयाँ पाटपूर्जा र प्रणालीहरूको परीक्षण गरीरहको कम्पनीले जनाएको छ ।
‘आन्तरिक परीक्षण को क्रममा, हाम्रो परीक्षण इन्जिनियरले आवश्यक डाटा संकलन गर्ने तथा प्रमाणीकरण गर्ने उद्देश्यले नयाँ चेसिस पुनरावृत्ति परीक्षण गरिरहेका थिए जुन त्यति राम्रोसँग सफल हुन सकेन । यस्तो भ्रमपूर्ण समाचारले गर्दा यहां हरुमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं’ यात्रीले विज्ञप्तीमा लेखेको छ ।
आफ्ना उपभोक्ता र यात्रीको सुरक्षाप्रति आफुहरु सचेत र सतर्क रहेको बताउँदै भ्रममा नपर्न यात्रीले सबैलाई अनुरोध गरेको छ ।
