यल कोसेली घर संचालनमा
SamacharDesk | २०८० बैशाख ५, मंगलबार

ललितपुर महानगरपालिकाले नगरक्षेत्रभित्र उत्पादन भएका हस्तकला सामग्री बिक्रीका लागि पाटनढोकामा यल कोसेली घर सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले आजदेखि उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो ।
आज एक कार्यक्रम गरी सो यल कोसेली घरको महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुभारम्भ गर्नु भएको छ । सो अवसरमा मेयर महर्जन भन्नुभयो, “कोसली घरले बिक्री गर्ने सामग्रीमा गुणस्तरको प्रत्याभूति हुनुपर्छ ।
अनि मात्रै हामीले ‘मेड इन ललितपुर’ भन्ने ट्याग लगाउनु उपयुक्त हुन्छ । गुणस्तर कायम गर्नेमा हामीले कुनै पनि सम्झौता गर्ने काम नगरौँ”, नगरप्रमुख महर्जनले भने, “अहिले ललितपुरमा आउने पर्यटकले बिताउने समय ज्यादै न्यून छ ।
उनीहरुको बसाइ लम्ब्याउन हामीले धेरै कामहरु गर्दै आइरहेका छौँ । अबदेखि ललितपुरमा प्रवेश गर्ने पर्यटकलाई यल कोसेली घरमा एक पटक प्रवेश गर्ने व्यवस्था मिलाउने छौँ ।”
ललितपुर महनगरपालिकाले हरेक शुक्रबार र शनिबार महानगरपालिका परिसरमा स्थानीय हस्तकला सामग्रीहरुको बिक्री बढाउन मेला सञ्चालन गर्दै आइरहेको छ ।
Categorized in बिजनेस