येँया (इन्द्रजात्रा) अन्तर्गत आज क्वनेयाः
SamacharDesk | २०७९ भाद्र २४, शुक्रबार

बुधबार नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरी शुभारम्भ भएको इन्द्रजात्राको पहिलो दिन आज धुमधामसँग पर्व मनाईंंदैछ ।
आज जिवित देवी कुमारी, गणेश, भैरवलाई रथारोहण गरी शहर परिक्रमा गरी यो पर्व हर्षाेल्लासपूर्वक मनाइन्छ । जात्रा सँगैसँगै दीप्याखं, मजिपा लाखे, कुम्हो नाच, भक्तपुरको माकः प्याखं, महांकाल नाच, हल्चोकको सवभक्कु भनेर चिनिने आकाश भैरव गण नाच, किलागलबाट पुलुकिसि नाच आदि देवदेवताको नाच काठमाडौँका ठाउँठाउँमा नचाइन्छ।
यसका साथसाथै अर्काे आकर्षण भनेको ह्यूमतमा कुमारी, गणेश, भैरवको आगमन सँगैसँगै घुम्ने दियो बालेर आरती गर्ने प्रचन रहिआएको छ ।
आजको दिन मरुटोल अर्थात् वसन्तपुरबाट रथ तानेर काठमाडौँको जैसीदेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, कोहिटी, चिकंमुगल हुँदै भीमसेनस्थान लगायतका विभिन्न ठाउँको परिक्रमा पछि वसन्तपुरमै ल्याएर जात्रा टुङ्ग्याइन्छ । यस दिन राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने चलन छ।
जात्राको दोस्रो दिन भोलि थःने अर्थात् सहरको माथिल्लो क्षेत्रबाट कुमारीको रथ यात्रा गरिन्छ। त्यसदिन वसन्तपुरबाट रथजात्रा सुरु गरेर प्याफल, यट्खा, नरदेवी, थाय्मदु, भेडासिङ, असनबाट केलटोल इन्द्रचोक हुँदै वसन्तपुर पुगेपछि जात्रा सम्पन्न हुन्छ।
त्यसपछि सबभन्दापछिको दिन यँलागा चौथी अर्थात् भाद्रकृष्ण चौथीको दिन नानीचायाः भनेर रथ मरुटोलबाट प्याफल हुँदै किलागलबाट इन्द्रचोकतिर तानेर जात्रा सम्पन्न गरिन्छ।
रथ जात्रा गरिँदा रथको अगाडि अगाडि लाखे नाच र पुलकिसि नाच ल्याइन्छ। त्यसपछि गणेश र भैरवको रथ अनि सबैभन्दा पछाडि कुमारीको रथ तानेर ल्याइन्छ। नानीचायाःको दिन बेलुकी यःसिं ढालेर येँयाः जात्रा सम्पन्न भएको घोषणा गरिन्छ।
त्यसपछि इन्द्रध्वज अर्थात् यःसिंलाई टेकु दोभानमा लगेर विसर्जन गरिन्छ।
Categorized in संस्कृति