बिस्काः जात्राको क्रममा यःसिँ ढालियो
SamacharDesk – बिराज | २०८० बैशाख १, शुक्रबार

आठ रात नौ दिन लामो जात्रा भनी प्रशिद्ध भक्तपुरको बिस्काः जात्राको क्रममा आज यःसिंखेलमा ठड्याइएको यःसिँ ढालिएको छ । चैत्र मसान्तको दिनमा यःसिँखेलमा उठाइएको यःसिँ आज साँझ ढालिएको हो ।
बिस्काः जात्राको क्रममा चैत्र मसान्तको दिनमा भक्तपुरको यःसिँखेलमा ५५ हात लामो यःसिँ उठाउने गरिन्छ भने बैसाख संक्रान्तिको दिनमा ढालिन्छ ।
यःसिँ उठाउने क्रममा अष्टमातृकाको प्रतिकको रुपमा आठ वटा डोरीको सहायताले तानेर उठाइन्छ ।
सोही यःसिँमा दुईवटा लामो ध्वजा पनि झुन्ड्याइएको हुन्छ । सो ध्वजालाई नाग र नागीनको रुपमा लिइन्छ ।
राजकुमारीको नाकबाट निस्केका नाग र नागीनलाई मारेपछि ५५ हात लामो रुखको काठमा राखी झुन्ड्याएको भन्ने किम्वदन्ति यस जात्रासँग जोडिएको छ ।
भैरवको प्रतिकको रुपमा लिइने यःसिँ दर्शन गर्न काठमाडौं उपत्यकालगायत विभिन्न स्थानबाट हजारौंको संख्यामा आम सर्वसाधारण भक्तपुरको यःसिँखेल पुगेका थिए ।
यसअघि गत चैत्र २७ गते सोमबार टौमढी टोलमा न्यातापोल मन्दिर अगाडी भैरवनाथको रथ तान्दै जात्रा सुरु भएको थियो । आउँदो बैशाख ५ गते टौमढीमा न्यातापोल मन्दिर अगाडि नै फेरी भैरबनाथको रथ तानेर जात्रा सम्पन्न हुनेछ ।
बिस्काः जात्राको क्रममा रथ तान्दा रथको अगाडी र पछाडी दुवैतिरबाट तानिन्छ । यसरी दुबैतिरबाट रथ तानिने नेपालको एउटै मात्र रथजात्रा सम्भवतः बिस्काः जात्रा मात्रै हो ।
नेवार समुदायले सौर्यमासको आधारमा मनाउने निकै कम पर्वहरुमध्ये बिस्काः जात्रा पनि एक हो ।
Categorized in संस्कृति