arin enterprises

प्राङ्क गरेको भन्दै युट्युबर आकाश पक्राउ

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण ४, बुधबार

प्राङ्क गरेको आरोपमा काठमाडौंबाट एक जना युट्युबरलाई पक्राउ गरिएको छ । प्रहरीले झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका हाल भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरेको हो ।

आकाशले प्राङ्क भिडियोहरु बनाएर नेपाली प्राङ्कस्टर्स नामक युट्युब च्यानलमा हाल्ने गरेका छन् । आकाशको यस युट्युब च्यानलको ५ लाख ७ हजार बढि सब्सक्राइबरहरु रहेका छन् ।

आकाशलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोप लगाइएको छ । आकाशमाथि मजाक, ख्यालठट्टा, मस्खरीको नाममा सार्वजनिक स्थलमा सर्वसाधारणलाई शारिरीक र मानसिक रुपमा सास्ती दिने, हैरानी गर्ने र दिकदार लगाउने आरोप लागेको छ ।

आकाशलाई फागुन ३ गते मंगलबार पक्राउ गरिएको थियो भने जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

युट्युबरलाई पक्राउ गरिएपछि भने विभिन्न युट्युबर, संचारकर्मीहरुको साथै आम सर्वसाधारणबाटसमेत यसको विरोध शुरु भएको छ ।

Categorized in समाज