arin enterprises

“कलाकारले हरेक वस्तुमा सिर्जना देख्छ” : कलाकार विभूषण ताम्राकार

SamacharDesk – राम डंगोल | २०८० आषाढ ७, बिहिबार

ललितपुरस्थित सदर चिडियाखानाभित्र हावाहुरीबाट ढलेका रुखका हाँगाबिंगा तथा काठका गोलाहरुलाई कलाकारहरुले जिवन्तता प्रदान गरिरहेको छ ।

कलाकार विभूषण ताम्राकार र उसको १० जनाको टोलीले सदर चिडियाखानामा हावाहुरीबाट ढलेका, भाँचेका काठमा कलात्मक रुपमा जनावरका आकृतिहरु तयार पारेका छन् ।

उनीहरुले काँइयो र कपुर जातका रुखका काठबाट हाललाई गोही, उल्लु, हात्तीको टाउको, कछुवा, डल्फीन तथा गैंडाको काठको मूर्ति बनाइरहेका छन् । त्यसमध्ये गोहीको मूर्ति भने तयार भइसकेको अवस्था छ ।

कलाकार ताम्राकारको अगुवाईमा चिडियाखानासँग अनुमति लिई यत्रतत्र छरिएर रहेका काठलाई मूर्तिमा परिणत गर्ने काम भइरहेको हो ।

ताम्राकार पेशाले चित्रकार हुनुहुन्छ तर यस हस्तकला सम्बन्धी काम गर्नलाई उनले केही महिना अरुबाटै सिकेर भए पनि उक्त काठको मूर्ति बनाइरहेको उनले बताए । उहाँलाई साथ दिन भने हस्तकला पढिरहेका विद्यार्थीहरुले बेलाबेलामा साथ दिइरहेका छन् ।

कलाकार भएपछि जुन कुरामा पनि सिर्जना नै देखिने भएकाले आफू यता घुम्न आउँदा यत्रतत्र छरिएर रहेका काठका गोलाहरु देखेर आफूले त्यसमा केही आकृति बनाउने सोच बनाएको कलाकार ताम्राकार बताउनुहुन्छ ।

ती मूर्तिहरु बनाउनका लागि भने चिडियाखानाले काठ र औजारहरु उपलब्ध गराएको उनले बताए । उहाँको कामको उच्च ओहदाका व्यक्तिहरु आएर प्रसंशा गरेता पनि त्यतिकै कुहेर, जलाएर खेर फालिराखेको काठको सहि उपयोग गरी सिर्जना गरिदिने कामको निरन्तरताका लागि सहयोग गर्न भने कोही पनि तयार नभएको बताए । बरु उल्टो उहाँहरु आफै श्रमदान गरी विना पैसा चिडियाखानाको शोभा बढाउन उपहार स्वरुप अहिले बनाइराखेका ६/७ वटा काठका मूर्तिहरु चिडियाखानालाई प्रदान गर्ने तरखरमा रहेको उनले बताए ।

कलाकार ताम्राकारका भन्नुभयो, “यस क्षेत्रमा यस्ता बेवारिसे छाडिराखेका काठहरु धेरै छन् । ती एकदम राम्रो गुणस्तरका काठहरु हुन्, यदि यस चिडियाखानाले हामीलाई सो काठ उपलब्ध गराउने हो र अन्य निकायबाट पनि हामीलाई आर्थिक सहयोग प्राप्त हुने हो भने यहाँ भएका सबै काठमा राम्रा मूर्तिहरु बनाएर दिन हामी तयार छौं ।”

अझ उनको सोचाई अनुसार कहिँकतैबाट आर्थिक सहयोग प्राप्त भएमा काठका ठूलठूला गोलाबाट जनावरका मूर्तिहरु बनाएर चिडियाखानाको बाहिरी आसपासमा ठाउँठाउँमा राख्ने छ ।

जसले चिडियाखाना घुम्ने आउनेहरुले बाहिरबाटै जनावरका मूर्तिहरु अवलोकन गरी अब हामी चिडियाखाना पुग्न लाग्यो है भन्ने भान होस् भन्ने कलाकार ताम्राकारको चाहना रहेको छ ।

जे होस्, कलाकार ताम्राकारले गरिरहेका उक्त काम सह्रानिय रहेको छ । खेर जान लागेका सामानहरुलाई उपयोगमा ल्याएर त्यसबाट कलाकृतिको सिर्जना भएको छ, अझ भनौं भने सामान्य काठका गोला तथा हाँगाविंगाहरुलाई जिवन प्रदान गरेको छँदैछ । उहाँको उक्त कार्य वातावरण दृष्टिले पनि उपयोगी देख्न सकिन्छ ।

तसर्थ कलाकारको उक्त कार्यलाई निरन्तरता दिन राज्य तथा जनस्तरबाटै आर्थिक तथा सामाजिक सहयोग प्रदान गर्न सके हाम्रो मौलिक यस्ता कलाकृतिहरु बढ्दै जान्छ भने शीप विकासको साथसाथै कलाकारहरुको मनोबल पनि बढ्ने देखिन्छ ।

 

Categorized in समाज