‘आमा’ चलचित्रका तीन अभिनेत्री सम्मानित
SamacharDesk – विजयरत्न | २०८३ आश्विन १६, शुक्रबार
नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’ का तीन अभिनेत्री सम्मानित गरिएको छ ।
राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले ‘आमा’ चलचित्रका तीन अभिनेत्रीहरु चैत्यदेवी सिंह, भुवन चन्द थापा र वसुन्धरा भुसाललाई विशेष सम्मान गरेको हो ।
सिंह, थापा र भुसाललाई संघका अध्यक्ष उत्तम केसी र महासचिव सुनिल कटुवालले खादा, माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नायिका वसुन्धरा भुसालले नेपाली चलचित्रको प्रारम्भिक समयको अनुभव स्मरण गर्दै चलचित्र क्षेत्रमा आफूहरूले भोगेका संघर्ष र अनुभवबारे धारणा राखेकी थिइन् ।
त्यसैगरी, संघका अध्यक्ष उत्तम केसीले अग्रज कलाकारको सम्मान र नेपाली चलचित्रको इतिहास संरक्षण गर्न कलाकार संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्रको प्रारम्भिक यात्राको स्मरण गर्दै पहिलो पुस्ताका कलाकार तथा प्राविधिकले सीमित स्रोतसाधनका बाबजुद चलचित्र क्षेत्रको विकासका लागि गरेको योगदानको चर्चा गरेका थिए ।
चलचित्रका गीत–संगीत नेपाली समाज र संस्कृतिको अभिन्न हिस्सा बनेको उल्लेख गर्दै पुराना चलचित्रका गीत, संगीत र सिर्जनालाई अभिलेखीकरण तथा संरक्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो ।
सोही अवसरमा विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकामा समेटिएका नेपाली चलचित्रका गीतसम्बन्धी सामग्रीको विमोचनसमेत गरिएको थियो । उक्त सामग्रीमा नेपाली चलचित्रका गीत–संगीतसँग सम्बन्धित विषयवस्तुलाई समेटिएको छ ।
कार्यक्रममा विशिष्ठ कलाकार लय संग्रौला, संघका निर्वतमान अध्यक्ष तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लव प्याकुरेल लगायतको उपस्थिती रहेको थियो ।
नेपालमा यस अघि यसअघि असोज १ गतेको दिनमा राष्ट्रिय चलचित्र दिवस मनाईँदै आएको थियो । नेपालको पहिलो कथानक चलचित्र ‘आमा’ को प्रदर्शन मितिलाई आधार मानेर यस वर्षबाट असोज १५ गते दिवस मनाउन थालिएको हो ।
सन् १९५१ मा नेपाली भाषामा ‘सत्य हरिश्चन्द्र’ निर्माण भएको थियो । त्यसपछि नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’ २०२२ असोज १५ गते प्रदर्शन भएको थियो ।
Categorized in पेजथ्री




