arin enterprises

अपाङगता भएकाहरुको स्वाबलम्बन जीवनसंवन्धी अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न

SamacharDesk – सोसियल ब्यूरो | २०७५ फाल्गुण ३, शुक्रबार

पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवन पद्धति संवन्धी अन्तरराष्ट्रिय सम्मेलन ललितपुरमा सम्पन्न भएको छ । स्वाबलम्बी जीवन सम्बन्धी विविध प्रेरणादायी पक्षहरुको चर्चा गर्दै ‘अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवनपद्धती सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन’ ललितपुरको धोविघाटमा शुक्रबार सम्पन्न भएको हो ।

सम्मेलनमा पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको जीवन र समस्यालाई लिएर वहस गरिनुका साथै विश्व समक्ष उजागर गर्ने प्रयास भएको थियो ।

सम्मेलनमा नेपाल तथा जापानका पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । सोही सम्मेलनमा जापानका अपूर्ण तथा अति–अशक्त व्यक्तित्व तथा मेनास्टिम एशोसियसन जापानका प्रतिनिधि काचुया फुजीवाराको समेत उपस्थिती थियो । सम्मेलनमा फुजिवाराले जापानको स्वाबलम्बन जीवनपद्धतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । साथमा उनको जीवनको संघर्ष र यथार्थता सम्बन्धी भिडियो पनि देखाइएको थियो ।

साथै नेपालका पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको बर्तमान अवस्थाको बारेमा आयोजक संस्था स्वाबलम्बन जीवनपद्धती केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमले सचित्र कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालको अपाङ्गता क्षेत्रमा भए गरेका सामाजिक सुरक्षा सम्बन्धी कार्यपत्र भने बीरबहादुर राईले प्रस्तुत गरेका थिए ।

आम्दा जापानका प्रतिनिधि निसिमा नोजोमु र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पनि विशेष सहभागिता रहेको सम्मेलनको उद्घाटन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापावाट भएको थियो ।

पूर्ण अपाङ्गता भएका व्यक्तिहरुकै नेतृत्वमा वि.सं. २०६७ मा स्वाबलम्बन जीवनपद्धती केन्द्र स्थापना भएको हो । संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकारको पैरवी गर्नुका साथै सहयोगी सेवा, सहायक सामग्री उपलब्ध गराउनु लगायत स्वाबलम्बी जीवनयापनका लागी आवश्यक तालीम परामर्श, अवरोधमुक्त वातावरण निर्माणको लागी अभियान चलाउँदै आएको छ । साथै समुदायमा अपाङ्गताको अधिकारमुखी अवधारणाको वारेमा सचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरु पनि गर्दै आएको छ ।

Categorized in समाज