arin enterprises

रसुवा बाढी अपडेटः १ हजार ४१० जनाको शव फेला

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ आश्विन २, शुक्रबार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान जानेको संख्या एक हजार ४१० पुगेको छ ।

नेपाल प्रहरीबाट सार्वजनिक भएको शुक्रबार राति ८ः०० बजेसम्मको अद्यावधिक जानकारी अनुसार देशको बाढि प्रभावित विभिन्न स्थानबाट हालसम्म फेला परेको शवको संख्या १ हजार ४१० पुगेको छ ।

फेला परेका शवमध्ये चितवनमा ३६४ वटा, नवलपरासी पूर्वमा २३२ वटा र नवलपरासी पश्चिममा २२२ वटा शव फेला परेको छ । त्यस्तै नुवाकोटमा २०३ वटा, रसुवामा १९९ वटा, गोरखामा ७८ वटा, धादिङमा ७२ वटा र तनहुँमा ३८ वटा शव फेला परेको छ ।

दुई जनाको भने काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

सनाखत हुन नसकेका शवहरुको पहिचानको लागि शवको र आफन्तको डिएनए नमुना सङ्कलन गरिएको छ । हालसम्म मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

१ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । पहिचान नभएका १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ७ सय ९१ जना व्यक्तिहरूलाई राखिएको छ ।

Categorized in राष्ट्रिय