भक्तपुरको तिहार २२, २३ र २४ गते
SamacharDesk – बिराज | २०८३ कार्तिक १७, सोमबार
भक्तपुरमा यस वर्षको तिहारको क्रममा २२ गते लक्ष्मीपूजा, २३ गते म्हपूजा र २४ गते भाईटीका गरिने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरु समेतको उपस्थितीमा भएको वैठकले यस्तो निर्णय गरेको हो ।
तान्त्रिक विधिअनुसार देहायबमोजिम तिहार मनाउन उपयुक्त हुने राय सुझाव प्राप्त भएको हुँदा सोही बमोजिम तिहार मनाउने सम्बन्धी निर्णय भएको बताइएको छ ।
यस वर्षको तिहारमा विभिन्न पात्रो र सरोकारवालाहरुबाट फरक फरक मितिमा चाड मनाउने गरी सार्वजनिक भएका समाचारहरुबाट सर्वसाधारणमा अन्यौल सिर्जना हुने देखिएर एकरुपता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको वैठकले जनाएको छ ।
निर्णय बमोजिम मिति २०८३ कार्तिक २२ गते, आइतबार बिहान १०ः५४ बजेपछि औंसी तिथि प्रारम्भ हुने भएकोले साँझ दिपावली गरी लक्ष्मी पूजा मनाउने निर्णय गरेको छ ।
२०८३ कार्तिक २३ गते, सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि आरम्भ हुने भएकोले साँझ म्हपूजा मनाउने र मिति २०८३ कार्तिक २४ गते, मंगलबार दिनको १२ः४१ बजेपछि द्वितीया तिथि आरम्भ हुने भएकोले साँझ किजापूजा मनाउने निर्णय गरेको छ ।
बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पूजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला निवर्तमान अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो ।
Categorized in संस्कृति




