हरर फिल्म फेस्टिभलमा ‘इन दिस डार्कनेस आई सी यू’ उत्कृष्ट
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक १७, सोमबार
काठमाडौं । काठमाडौंमा सम्पन्न हरर फिल्म फेस्टिभलको दोस्रो संस्करणमा ‘इन दिस डार्कनेस आइ सी यू’ उत्कृष्ट फिचर फिल्म बनेको छ ।
रसियन हाउस काठमाडौंमा सम्पन्न फेस्टिभलको प्रतिस्पर्धामा रहेका ६ वटा फिचर फिल्मध्ये नादिम ताबेत निर्देशित यो फिल्मले उत्कृष्ट फिचर फिल्मको पुरस्कार जित्न सफल भएको हो । यो चलचित्र फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो ।
दर्शकको मतका आधारमा प्रतिस्पर्धामा रहेका १८ छोटा चलचित्रमध्ये आकाश धिमाल निर्देशित नेपाली चलचित्र ‘KNAR’ उत्कृष्ट छोटो चलचित्र घोषित भयो ।
तीन दिन चलेको फेस्टिभलको आइतबार एक समापन समारोहको आयोजना गरी विजयी चलचित्रहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
समापन समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनालले नेपालमा हरर चलचित्रको प्रवद्र्धन गर्ने पहलको प्रशंसा गरे ।
महोत्सव निर्देशक रशिक पाठकले हरर चलचित्रले फिल्मकर्मीलाई लोककथा, समाज र पहिचानजस्ता विषय खोतल्ने सशक्त माध्यम दिने दावी गरे ।
हरर तथा विधागत चलचित्रमा काम गर्ने नेपाली फिल्मकर्मीका लागि महोत्सवले निरन्तर अवसर सिर्जना गर्ने उनले बताए ।
समारोहमा नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सलर, उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्वमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा र नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको पनि उपस्थिति थियो ।
महोत्सवको समापन मोराद मुस्तफा निर्देशित ‘आयशा कान्ट फ्लाई अवे’ बाट भएको थियो ।
इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको यो चलचित्र काइरोको ऐन शम्स बस्तीमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको संघर्षमा आधारित छ ।
प्रतिकुल मौसमका वावजुद तीन दिनसम्म चलेको महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।
Categorized in पेजथ्री




