अब नेपालीहरुले पनि हट एअर बेलुन चढ्न पाइने
SamacharDesk – समाचारडेस्क | २०७५ कार्तिक ३०, शुक्रबार

अब हट एअर बेलुनमा बसेर उड्दै पोखराको मनोरम दृश्यको दृश्यावलोकन गर्न सकिने भएको छ । बेलुन नेपाल प्रा.लि.ले भोलिबाट पोखरामा हट एअर बेलुन सेवा शुरु गर्न लागेको हो ।
कम्पनीले आज काठमाडौं पत्रकार सम्मेलन गर्दै भोलिबाट पोखरामा बेलुन सेवा शुरु गर्न लागेको जानकारी दिएको हो । भोलि लेकसाइडमा हुने कार्यक्रममा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हट एअर बेलुनको औपचारीक उद्घाटन गर्नुहुने कम्पनीले जानकारी दियो ।
एउटा साहसिक खेलको रुपमा बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने साहसिक खेलको परिचय गराउन पाउँदा गौरव महसूस गरेको कम्पनीका सचिव प्रवीण महर्जनले बताउनुभयो । भविष्यमा बेलुनबाटै बन्जी जम्प, स्काइ डाईभ जस्ता कार्यक्रम पनि संचालन गर्ने योजना पनि सचिव महर्जनले पत्रकार सम्मेलनमै घोषणा गर्नुभयो ।
पोखराको धम्पुसबाट उडान गरी बेलुनलाई मार्दि खोलामा अवतरण गरिनेछ । तालीम प्राप्त बेलुन पाइलट र ग्राउन्ड ह्यान्डलिङको लागी पनि स्वदेशी प्राविधिकहरुको व्यवस्था मिलाईसकेको हुँदा बेलुन उडान पूर्णतः सुरक्षित हुने कम्पनीको दावी छ ।
एकपटकमा आठ जनासम्म बस्न मिल्ने उडानका लागी नेपाली प्रतिव्यक्ति रु. ११ हजार शुल्क तोकिएको छ भने विदेशी पर्यटकका लागी १ सय ६० डलर तोकिएको छ । बेलुन यात्रीका लागी प्रतिव्यक्ति रु. २० हजार डलरको बीमा पनि रहेको कम्पनीले जानकारी गराएको छ ।
Categorized in राष्ट्रिय