अभियन्ताहरुको भेला काठमाडौंमा सम्पन्न
SamacharDesk – विकाश | २०७६ माघ २५, शनिबार

समाजवादी पार्टी काठमाडौं जिल्लाको अभियन्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा समाजवादी पार्टी महानगर समितिका अध्यक्ष श्रीजन श्रेष्ठले हिति संरक्षणको आव्हानमा भएको हिति र्यालीमा समितिबाट पार्टीको झन्डासहित सहभागीता जनाएको जानकारी दिनुभयो ।
सो क्रममा र्यालीका कतिपय सहभागीहरुले पार्टीको झन्डा राखेको भन्द्रै विरोध गरेको र कैयन समर्थन गरेको श्रेष्ठको भनाई थियो ।
‘कतिले त पार्टीको झन्डा टाउनुपर्ने भन्दै विरोध गरेका थिए । तर कैयनले आयोजकले नै झन्डासहित सहभागी हुनलाई भनेको हो, सके अरु पार्टी पनि झन्डा सहित आए भइहाल्यो नि भन्दै हाम्रो समर्थन नै गरे’ श्रेष्ठले बताए ।
अर्का अभियन्ता राजाराम तण्डुकारले आफुहरु पहिलेदेखि नै सम्पदा, संस्कृतिको संरक्षणमा सक्रिय रहेको र समाजवादी पार्टीसँग आफ्नो उद्देश्य मिलेकोले पार्टीमै आवद्ध भएरै अगाडी बढेको बताउनुभयो ।
पत्रकार बिराजकाजी राजोपाध्यायले आफु पार्टीको विरोधी वा समर्थक नभएको प्रष्ट्याउँदै सूचनालाई सहि ढङ्गले सम्प्रेषण मात्र गरीरहेको बताउनुभयो ।
‘सरकारले पत्रकारको कलम नियन्त्रण गर्न खोजेर विधेयकको सुधारका लागि उठाइएको आवाजलाई पार्टीको आँखाले हेरिनुहुन्न । पत्रकारको काम सूचना सम्प्रेषण मात्र हो’ राजोपाध्यायको भनाई हो ।
कार्यक्रमलाई नेवाः अधिकारकर्मी डा. महेशमान श्रेष्ठ, पवित्र बज्राचार्य, मनरत्न शाक्य र डा. पुष्पराज राजकर्णिकारले सम्वोधन गरेका थिए । पहिचानसहितको संघीयता नै पार्टीको बटमलाईन भएको उहाँहरुले बताउनुभयो ।
कार्यक्रममा सम्पदा संरक्षणको साथै विभिन्न अभियानमा अग्रसर अभियन्ताहरु भेला भएका थिए ।
Categorized in राजनीति