arin enterprises

अमरराजको 'बाखं' म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ कार्तिक २०, मंगलबार

वरिष्ठ संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायको गीत ‘बाखं’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गीतको बारे जानकारी दिँदै गीतकार भगतदास श्रेष्ठले करीब ४ दशक अगाडि आफुले तत्कालीन राजनैतीक परिवेशमा उक्त गीत श्रृजना गरेको बताउनुभयो । ४ दशकपछि पनि आम नागरिकले कुनै परिवर्तनको आभाष गर्न नसकेकोमा गीतकार श्रेष्ठले दुःख व्यक्त गर्नुभयो ।

‘चार दशक अगाडि हामी प्रगतिशील अभियानमा लागेको बेलाको गीतले त्यो बेलाको बेदना चित्रण गरेको थियो’, संगीतकार वदन ज्वालानन्द राजोपाध्यायले बताउनुभयो, ‘यो गीत सुन्दा आजको परिवेशको कथा भनेकै जस्तो पनि सुनिन्छ ।’ राजोपाध्यायको भनाई थियो ।

भिडियोमा आफुले अमूर्त किसिमको प्रस्तुति दिन खोजेको निर्देशक पदम बज्राचार्यले बताउनुभयो । क्षतिग्रस्त भवन एवम् सम्पदालाई देशको अवस्थाको रुपमा हेर्न सकिने अथवा भूकम्पपिडितको पीडाको रुपमा पनि लिन सकिने बज्राचार्यको भनाई थियो । 

गायक अमरराज शर्मा राजोपाध्यायले म्यूजिक भिडियोको निर्माण गरेका प्राविधिक र संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्दै गीत श्रृजना हुँदाको समय स्मरण गर्नुभयो ।

भिडियोमा रचनाकार भगतदास श्रेष्ठले नै अभिनय गरेका छन् । सार्वजनिक भएको म्यूजिक भिडियोमा छायाङ्कन प्रशन्न बज्राचार्यले गरेका छन् भने सम्पादन र ग्राफिक्सको काम पदम बज्राचार्यले गरेका छन् । निर्देशन पदम र दयाको रहेको छ ।

 

Categorized in पेजथ्री