arin enterprises

अर्जेन्टिना पनि अन्तिम १६ मा

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १३, बुधबार

नाइजेरीयालाई २–१ गोल अन्तरले हराउँदै स्टार खेलाडी लियोनेल मेस्सीको अर्जेन्टिनी टोलि पनि अन्तिम १६ मा पुग्न सफल भएको छ ।

पहिलो खेलमा आइसल्यान्डसँग बराबरी र क्रोएशियासँग ३–० ले हार व्यहोरेपछि समूह चरणबाटै घर फर्किने संकटमा परेको अर्जेन्टिनाले नाइजेरीया विरुद्ध जीत निकाल्दै अन्तिम १६मा स्थान सुरक्षित गर्न सफल भएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन पहिलो गोल बार्साका स्टार खेलाडी मेस्सीले नै गरे । १४औं मिनेटमा सुन्दर गोल गर्दै मेस्सीले टिमलाई अग्रता दिलाए ।

तर यो अग्रता भने ५०औं मिनेटसम्म मात्र कायम हुन सक्यो । ५१औं मिनेटमा पाएको पेनाल्टिको सदुपयोग गर्दै नाइजेरीयन खेलाडी मोसेलले गोल गरेर खेललाई १–१ बराबरीमा ल्याए ।

खेलको ८२औं मिनेटसम्म पनि अर्जेन्टिना समूह चरणबाट बाहिरीने संकटबाट मुक्त हुन सकेको थिएन । ८३औं मिनेटमा रोजोले गोल गर्दै अर्जेन्टाइन टिमलाई २–१ गोल अन्तरले जित दिलाए । 

जित्नैपर्ने दवावमा रहेको अर्जेन्टाइन टिमले खेलको रणनीतिमा ठुलै फेरबदल गरेको देखिएको थियो । नाइजेरीयासँगको खेलमा अर्जेन्टिनाले गोलकिपर पनि फेरेको थियो भने सर्जियो अग्युरोलाई पनि बेन्चमै राखेको थियो । आइसल्यान्डसँगको खेलमा ३ र मैत्रीपूर्ण खेलमा स्पेनसँग ६ गोल खाँदाका गोलकिपर विलि क्याबलेरोको ठाउँमा अर्जेन्टिनाले फ्रान्को अर्मानीलाई गोलकिपरको रुपमा मैदानमा उतारेको थियो ।

समूह डिबाट समूह विजेताको रुपमा क्रोएशिया अन्तिम १६ मा पुगिसकेको छ भने अर्जेन्टिना उप विजेताको रुपमा अर्को चरणमा गएको छ । अब अन्तिम १६मा अर्जेन्टिनाले फ्रान्स विरुद्ध खेल्नेछ ।

Categorized in स्पाेर्ट्स