arin enterprises

असहाय, अतिविपन्न र मजदूरले मात्रै राहत लिन मेयर शाक्यको आग्रह

SamacharDesk – विकाश | २०७६ चैत्र २०, बिहिबार

काठमाडौं महानगरपालिकाले संकटमा परेका असहाय, अतिविपन्न र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरले मात्र राहत लिनको लागि अपील गर्नुभएको छ । एक अपील जारी गर्दै मेयर शाक्यले अन्य व्यक्ति एवं परिवारले राहत सामग्री नलिइदिनु हुन पनि हार्दिक अनुरोध गर्नुभएको छ ।  

मेयर शाक्यले अभिभावक नभएका, आयश्रोत तथा सम्पत्ति नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी श्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण सुरु गरेको पनि जानकारी दिनुभएको छ ।  

‘नेपाल सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसको लागि स्थानीय निकायले लगत संकलन कार्य अघि बढाइएको छ,’ उहाँले जारी गरेको अपिलमा भनिएको छ, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कामपा कोरोना भाइरस (कोभिड – १९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ ।’

उहाँले कामपा भित्र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरलाई पनि राहत वितरणका लागि ३२ वटै वडाका जनप्रतिनिधि खटिरहेको पनि उल्लेख गर्नुभएको छ ।  

‘राहत सामग्री लिने र दिने व्यक्ति र संस्थाले पनि राहत वितरण गर्दाको समयमा पटक्कै भीडभाड नगरी शान्त एवं सभ्य तरिकाले ग्रहण र वितरण गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘महानगरभित्र सक्रिय संघ, संस्था, क्लब, गुठी आदि जस्ता निकायहरूले आफ्नै श्रोतबाट राहतजन्य कुनै कार्य गर्न लागेको छ भने वडा कार्यालयहरूसँगको समन्वयमा मात्र सम्पन्न गर्न पनि अनुरोध गर्दछु ।’ 

साथै कामपा प्रमुख शाक्यले नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको भन्दै त्यसलाई जिम्मेवार ढंगले सबैलाई पूरा गर्न पनि आग्रह गर्नुभएको छ ।

‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्ने भएकोले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना संक्रमण विरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पु¥याइ दिनुहुन सम्पूर्ण महानगरवासीमा पुनः एक पटक हार्दिक अपिल गर्दछु,’ मेयर शाक्यले भन्नुभएको छ ।

अमेरिका लगायत युरोपका केही ठूला र विकसित देशहरूमा अहिले महामारीका रूपमा संक्रमण फैलिनुको एक मात्र कारण सरकारद्वारा घोषित ‘लकडाउन’ को वेवास्ता गर्नुले नै हो भन्ने कुरालाई हेक्का राख्दै आम नेपाली अझ बढी सचेत र सतर्क हुनु आवश्यक रहेको शाक्यले उल्लेख गर्नुभएको छ ।

भीडभाडबाट नै कोरोना संक्रमण गुणात्मक रूपले फैलिने भएकोले घरबाट बाहिर नआई सम्भव भएसम्म अनलाइन मार्फत आवश्यक सामग्रीहरू खरिद गर्न पनि नगरवासीहरूलाई उहाँले अनुरोध गर्नुभएको छ । 

‘लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि महानगरपालिकाको टोल फ्री नं. ११८०, महानगर प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गर्दै उहाँले महानगर प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरू फोन नम्बरहरू खुला रहने जानकारी समेत गराउनु भएको छ । 

Categorized in राष्ट्रिय