arin enterprises

अस्ताए दुर्गानाथ शर्मा

SamacharDesk – विकाश | २०७६ माघ २२, बुधबार

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । ७३ वर्षीय शर्माको मनमोहन अस्पतालमा उपचारको क्रममा बुधबार विहान निधन भएको हो ।

मुटु रोगका बिरामी उनको २४ महिना अघि ओपन हार्ट सर्जरी गरिएको थियो । उक्त अपरेसनपछि इन्फेक्सनको समस्या भएपछि उनलाई गंगालाल अस्पताल भर्ना गरिएको थियो ।

गंगालाल अस्पतालमा ५ दिन उपचार गरेपछि त्यहाँ उनको उपचार सम्भव नभएका कारण मंगलबार मात्र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको थियो भने बुधबार विहान ११ बजे उनको निधन भएको हो ।

बुधबार नै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

शर्माले नेपाल टेलिभिजनमा लामो समयसम्म काम गरेका थिए । नेपाल टेलिभिनजमा उहाँले महाप्रवन्धकको रुपमा समेत काम गरेका छन् ।

विश्व घटनाको नाम लिने वित्तिकै नेपाल टेलिभिजनको त्यो समयका दर्शकहरुको मानस पटलमा आज पनि बिल्लि आइडलको व्हाइट वेडिङको संगीत गुन्जिने गर्दछ 

टेलिभिजनमा समाचारवाचन र विश्व घटना कार्यक्रम सञ्चालन गरेर शर्माले ख्याति कमाएका थिए ।

केबुल वा स्याटेलाइट टेलिभिजनको पहुँच बनि नसकेको समयमा उनले विश्व घटना कार्यक्रम संचालन गरेर नेपाल टेलिभिजनका दर्शकलाई विश्वभरीका घटनाहरुसँग जोड्ने गरेका थिए ।

विश्व घटनाको नाम लिने वित्तिकै नेपाल टेलिभिजनको त्यो समयका दर्शकहरुको मानस पटलमा आज पनि बिल्लि आइडलको व्हाइट वेडिङको संगीत गुन्जिने गर्दछ ।

नेपाल टेलिभिजनलाई आजको अवस्थासम्म पुर्याउन योगदान दिने उनले नेपाल टेलिभिजनको दोश्रो च्यानल एनटिभि प्लस को स्थापनाको लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

शर्माले सुरुमा गोरखापत्र दैनिकमा काम गरेका थिए ।

शर्मालाई चलचित्र समीक्षकको रुपमा पनि चिनाउन सकिन्छ । उनले एक समयमा विभिन्न चलचित्रको समीक्षात्मक लेख समेत लेखेका छन् ।

पछिल्लो समयमा शर्माको आत्मकथा पुस्तक ‘छाल’ पनि प्रकाशन भएको छ ।

शर्माको जन्म २००४ सालमा इलाम जिल्लाको फिक्कलमा भएको थियो ।

शर्माले ०२८ साल अम्बिका शर्मासँग प्रेम विवाह गरेका थिए भने उनका दुई छोरा, पंकज र निरज छन् ।

Categorized in राष्ट्रिय