अस्ताए पद्मरत्न, राजकीय सम्मानसहित दाह संस्कार भोलि
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ कार्तिक १८, आइतबार

मानव अधिकारवादी एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । भोलि सोमबार तुलाधरको शवमा सरकार प्रमुखको रुपमा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको राष्ट्रिय झण्डा ओढाउनु हुनेछ भने सैनिक टुकडिबाट सलामी पनि दिइनेछ ।
उनको शवयात्रा पद्मरत्न निवास लाजिम्पाटबात शुरु भई कमलाछिबाट असन हुँदै उनको पुर्ख्यौली घर न्हायकंटोलबाट शोभाभगवती कर्णदीप पुर्याई त्यहिँ उनको दाहसंस्कार गरिनेछ ।
सोभन्दा अगाडि अन्तिम श्रद्धान्जलीको तुलाधरको शवलाई विहान ७ बजेदेखि ११ बजेसम्म उनको निवास लाजिम्पाटमा राखिनेछ । शवयात्रा दिउँसो १ बजे शुरु गरिनेछ ।
वरिष्ठ वामपन्थी नेता तुलाधरको उपचारको क्रममा नर्भिक अस्पतालमा आज दिउँसो १ बजे कार्डियाक प्युलमोनरी एटेक भई निधन भएको थियो । गत कार्तिक ९ गते मस्तिष्कघात भएर उपचारका लागी माईतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । किड्नीमा समस्या देखिएपछि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो ।
७७ वर्षीय तुलाधरको गत भाद्र १६ गते पहिलो पास्नी भीमरथारोहण सम्पन्न भएको थियो । सो अवसरमा उहाँलाई नागरिक स्तरबाट भव्य सम्मान पनि गरिएको थियो ।
प्रधानमन्त्रीले पनि श्रद्धान्जली पोखे
प्रधानमन्त्री केपी शर्मा ओलीले तुलाधरप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । ट्वीट गर्दै प्रधानमन्त्री ओलीले तुलाधरको निधनले आफुलाई निकै दुःख लागेको बताएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि तुलाधरप्रति श्रद्धान्जली व्यक्त गर्दै नेपालको मानवअधिकार र भाषा आन्दोलनमा तुलाधरको योगदानको स्मरण गरे ।
नयाँ शक्ति पार्टि नेपालका अध्यक्ष साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तुलाधरलाई आफुले सबभन्दा आदर गर्ने व्यक्तिमध्येका भनेका छन् ।
नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का सभासद् डा.अजयक्रान्ती शाक्य, राजेश शाक्य, प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ लगायतले पनि तुलाधरप्रति श्रद्धान्जली पोखेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनः तुलाधरलाई श्रद्धान्जली दिन उहाँकै निवास लाजिम्पाट पुग्नुभएको थियो ।
