arin enterprises

आज ठमेलमा सिंहसार्थबाहको जात्रा

SamacharDesk – कल्चर व्यूरो | २०७५ चैत्र ७, बिहिबार

काठमाडौंको पर्यटकिय क्षेत्र ठमेलको ऐतिहासिक विक्रमशील महाविहारका श्री गरुड भगवान सिंहसार्थबाहको जात्रा आज बेलुकि हुन गइरहेको छ । सयौं वर्षदेखि चल्दै आएको जात्राको निरन्तरतामा भने यसवर्ष आम जन समुदायमा शंकाको वातावरण रहेको छ ।

हरेक वर्ष होलिको भोलिपल्ट, फागुन शुक्ल पुर्णिमाको दिन ठमेलमा सिंहसार्थबाहको जात्रा निकालिने गरिन्छ । विक्रमशील महाविहारभित्र रहेका सिंहसार्थबाहुको मूर्तिलाई वाहिर ल्याई विहार अगाडी रहेको डबलीमा राखेर पूजा गर्ने गरिन्छ र सिन्दुर छर्किदैँ नगर परिक्रमा समेत गर्ने गरिन्छ ।

पूजा गरिने उक्त डबली हालै निर्माण भएको छायाँदेवी कम्प्लेक्सको प्रवेश द्वारसँगै जोडिएको छ । सिंहसार्थबाहको पूजा गरिने विक्रमशील महाविहारको कित्ता १०४० नम्बरको उक्त डबली अहिले भने अम्बिका राणाको नाममा कायम भएको छ । राणाले उक्त डबली विहारलाई फिर्ता दिने सहमति पनि गरेकि छन् तर हालसम्म फिर्ता भने दिएको छैन ।

देउताको जात्रा गर्नुपर्ने, ऐतिहासिक वौद्ध सम्पदासँग जोडिएको डबली व्यक्तिगत नाममा दर्ता हुँदा जनमानसमा भने जात्राको निरन्तरताको सवालमा आशंका पैदा भएको देखिन्छ ।

विगतमा यसै डबलीसँग जोडिएको चोकमा काठमाडौं १२ वर्षे खड्गसिद्धि जात्रा भद्रकाली नाच पनि ल्याउनुपर्ने परम्परा थियो । उक्त चोक हाल छायाँदेवी कम्प्लेक्सभित्र पर्न गएको छ । वर्तमान समयमा भद्रकाली नाच उक्त स्थानमा नचाउने परम्परा पनि बन्द भइसकेको छ ।

विक्रमशील महाविहारभित्र रहेका श्री गरुड भगवान सिंहसार्थबाहको नित्य पूजाको क्रममा स्नान गराउन विहार अगाडी नै रहेको कमलपोखरीबाट पानी ल्याउनुपर्ने चलन थियो । साथमा देउतालाई चढाउने कमलको फुल पनि यहि पोखरीबाट टिप्ने गरिन्थ्यो । 

हाल उक्त कमलपोखरीको स्थानमा नै छायाँदेवी कम्प्लेक्स निर्माण भएको हो । छायाँदेबी कम्प्लेक्सको निर्माणको क्रममा ऐतिहासिक कमलपोखरी मासिँदा सिंहसार्थबाहको नित्य पूजाको लागी समस्या भएको छ ।

यसप्रकारले विक्रमशील महाविहारको सम्पत्ति धमाधम व्यक्तिगत नाममा दर्ता हुँदै जाँदा विहार र सिंहसार्थबाहसँग जोडिएको विभिन्न परम्पराहरु बन्द हुँदै गएका छन् । त्यसैगरी सयौं वर्षदेखि निरन्तर चल्दै आएको सिंहसार्थबाहको जात्रा पनि बन्द हुने हो कि आशंका पैदा भएको हो ।

विक्रमशील महाविहारको गुठीको सम्पत्ति कसरी व्यक्तिको नाममा दर्ता हुन सफल भयो भन्ने विषय हाल चर्चामा रहेको छ । गुठीको सम्पत्ति व्यक्तिको नाममा दर्ता हुनुमा गुठीयारकै मिलेमतो रहेको आरोप समेत लाग्दै आएको छ ।

Categorized in संस्कृति