आज बुबाको मुख हेर्ने दिन
SamacharDesk – कल्चर ब्यूरो | २०७६ भाद्र १३, शुक्रबार

आज भाद्रकृष्ण औंसी, बुबाको मुख हेर्ने दिनको रुपमा मनाईँदैछ ।
आजको दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ, फलफुल आदिको साथमा विभिन्न उपहारहरु समेत दिएर आदर सम्मान प्रकट गर्ने गर्छन् ।
प्रविधिको विकाससँगै परदेशमा बसिरहेकाहरुले पनि सहजै बुबाको मुख हेर्ने र उपहारहरु समेत पठाउन सहज भइसकेको छ ।
आफ्नो जन्मदाता साथै आफुले अनेक प्रकारका दुःखकष्ट झेल्दै सन्तानलाई हरेक सुख दिइ हुर्काउने, कर्म दिने बुबाप्रति सम्मान प्रकट गर्दै आजको दिनलाई बुबाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ ।
आजको दिनमा बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित उत्तरगया जाने गर्दछन् । वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् ।
रसुवाको वेत्रावतीमा पनि आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।
गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।
गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मिठाइ आदि खान दिएर मनाइन्छ भने दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेमा दिवंगत पितृ तृप्त हुने विश्वास रहेको छ ।
आजकै दिनमा घरघरमा कुश पनि भित्र्याउने गरिन्छ । कुस भित्र्याउने दिन भएकोले आजको दिनलाई कुसेऔंसी भनेर पनि चिनिन्छ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याउने गर्छन् ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।
Categorized in संस्कृति