आज माघ १, देशैभरि माघे संक्रान्ती मनाईंदै
SamacharDesk – कल्चर ब्यूरो | २०७६ माघ १, बुधबार

आज माघ १ गते, देशैभरि विभिन्न प्रकारले माघे संक्रान्ती मनाईंदैछ । आजको दिनलाई विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार विभिन्न प्रकारले मनाइरहेका छन् ।
नेवार समुदायले आजको दिनलाई घ्यःचाकु संल्हूको रुपमा मनाइरहेका छन् । घ्यः भनेको घ्यू र संल्हू भन्नाले संक्रान्ती भन्ने बुझिन्छ । आजको दिनमा नेवार समुदायमा घ्यूचाकुसँग भात खाने गरिन्छ ।
साथमा आजै आमाले दीर्घायू र सुस्वास्थ्यको आशीर्वाद दिइ आफ्ना छोराछोरीलाई तेल लगाइदिने चलन छ ।
मधेशमा पनि आपसी सद्भावकासाथ आज यो चाड मनाउने गर्दछन् । थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ ।
आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ ।
थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने गरिन्छ । यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ ।
मगर समुदायमा भने आज तारो हान्ने खेल खेलिन्छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् ।
मगरहरुमा आजको दिन वन तरुलको विशेष महत्व रहन्छ । त्यसैले मगरहरु संक्रान्ती अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र संक्रान्तीको अघिल्लो रात पकाउने गर्छन् ।
एउटै संक्रान्तीको विभिन्न नाम
आजको दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछ । त्यसैले आजको दिनलाई मकर संक्रान्ती पनि भन्ने गरिन्छ । माघको संक्रान्तीलाई वर्षको विशेष दिन मानिने भएकोले माघे सक्रान्ती भनेर पनि भनिन्छ ।
आजको दिन तिलको पकवानकालागि प्रसिद्ध छ । माघ १ गतेको दिन तिललाई भुटेर सख्खरमा मुछेर लड्डु बनाइ खाने गरिन्छ । त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ ।
सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ ।
माघे संक्रान्तीको दिनमा घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डुको साथमा तरुल, सख्खरखण्ड, पिडालु उसिनेर खाने गरिन्छ ।
तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ ।
विहान सबेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगाई, व्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ ।
आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ ।
यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ ।
आज काठमाण्डौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ । लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।
साथमा आजै ललितपुरको अग्निशालामा पनि मेला लाग्ने गर्दछ ।
Categorized in संस्कृति