arin enterprises

आज विश्वभरिका रेडियोकर्मीहरु रेडियो दिवस मनाउँदै

SamacharDesk – विकाश | २०७६ फाल्गुण १, बिहिबार

आज १३ फेब्रुअरी, विश्वभरी विभिन्न कार्यक्रम गर्दै 'विश्व रेडियो दिवस' मनाईँदैछ । आजको दिनलाई सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गर्दछन् । 

सस्तो र सशक्त प्रभावकारी सञ्चारमाध्यमको रुपमा समाजमा परिवर्तनको लागि योगदानस्वरूप यससंग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरुको सम्मानमा सन् २०११ मा यूनेस्कोले आजको दिनलाई विश्वभर ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने घोषणा गरेको हो । 

यसकै निरन्तरता स्वरूप आज सातौ विश्व रेडियो दिवस मनाईँदैछ ।

सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरेका थिए । एक ठाउँमा कसैले बोलेको आवाज अथवा ध्वनी तारविहिन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिने त्यो सञ्चारको माध्यम नै रेडियो थियो ।

मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्वपूर्ण योगदान छ।

 

नेपालमा रेडियोको स्थापना र विकासक्रम

वि.सं. २००७ साल चैत्र २० गते नेपालको पहिलो रेडियो प्रजातन्त्रको स्थापना भएको हो । देशको पहिलो रेडियो प्रजातन्त्र रेडियोका प्रमुख तारीणी प्रसाद कोइराला थिए र उनैको आवाज पहिलो पटक नेपाली श्रोताले रेडियो प्रजातन्त्रमार्फत सुनेका थिए । 

५०० वाट क्षमताको सर्ट वेभमार्फत् ललितपुरको, खुमलटार स्टेशनबाट प्रशारण भएको थियो । यस्तै जनतालाई सञ्चारमा सहज पहुँचको उद्देश्यले सरकारी सञ्चार विस्तारको क्रममा वि.सं. २०३९ सालमा ललितपुरको भैंसेपाटी र पोखरा गरी दुई ठाउँबाट १०० किलोवाट क्षमताको पहिलो मिडियम वेभ रेडियोको प्रारम्भ भयो । २०४९ सालमा यसलाई वर्दिवास, धरान, धनकुटा, सुर्खेत, दिपायल गरी ५ वटै विकास क्षेत्रबाट सेवा विस्तार गरियो ।

त्यस्तै २०५३ साल कार्तिक २३ गते ८८ मेगाहर्ज देखि १०८ मेगाहर्ज निर्धारण गरी रेडियो नेपालले १००० मेगावाट क्षमताको देशको पहिलो फ्रिक्वेन्सी मोड््युलेसन अर्थात एफ एम रेडियो १०० मेगाहर्जबाट प्रसारण गर्यो । 

रेडियो नेपालमा गीत रेकर्ड गर्न र अन इयर गर्न भ्वाइस टेस्ट पास गर्नुपर्ने वाध्यता रहेको समयमा एफ एम रेडियोको स्थापना पछि यूवा पूस्ताका गायकको लागि ढोका खोलिदिएको थियो । यूवा पुस्ताका संगीतकर्मीलाई रेडियोमा आफ्नो गीत अन इयर गर्न एफ एम रेडियोलेसहज वातारवण दियो ।

दक्षिण एशियाको पहिलो स्वतन्त्र रेडियो पनि नेपालमै स्थापना भयो । 

श्रोताको चाहना र समाजको आवश्यकतालाई ध्यान दिएर कार्यक्रम उत्पादन गर्ने हो भने अझ पनि देश, समाजमा रेडियोले राम्रै लोकप्रियता कमाउन सकिनेमा दुइमत नहोला

नेपाल वातावरण पत्रकार समूहले रेडियो सगरमाथाको नाममा १०२.४ मेगाहर्जमा दक्षिण एशियाको पहिलो स्वतन्त्र रेडियोको शुरुवात गरे ।

२०५४ जेष्ठ ९ गते पहिलो पटक परिक्षण प्रशारणको रुपमा रेडियो सगरमाथा श्रोतामाझ गएको थियो ।

नेपालमा आज सामूदायीक र व्यवसायीक गरी झण्डै ६५० वटा एफएम रेडियोहरू सञ्चालनमा छन भने ९१८ हाराहारीमा मन्त्रालयले इजाजत दिइसकेको छ ।

विगतमा सिमित क्षेत्रभित्रमात्र सुन्न सकिने रेडियो स्टेशनहरु अब इन्टरनेटको सहज उपलब्धताका कारण संसारभरि सुन्न सकिने भएको छ । विभिन्न रेडियो आयपहरुमार्फत विभिन्न जिल्लामा संचालित रेडियोहरु इन्टरनेट उपलब्ध भएका देशका हरेक कुना मात्र होइन, संसारभरि सुन्न सकिने भएको छ ।

रेडियोको यस्तो पहुँच बनिसकेको अवस्थामा नेपालका रेडियो कार्यक्रमका स्तर भने उकासिनुको साटो खस्किँदै गएको गुनासो श्रोताहरुको रहेको छ । टेलिभिजनको साथमा हाल आएर सामाजिक संजालको बढ्दो लोकप्रियताका बीच रेडियो भने छायाँमा पर्दै गएको देखिन्छ ।

श्रोताको चाहना र समाजको आवश्यकतालाई ध्यान दिएर कार्यक्रम उत्पादन गर्ने हो भने अझ पनि देश, समाजमा रेडियोले राम्रै लोकप्रियता कमाउन सकिनेमा दुइमत नहोला ।

Categorized in राष्ट्रिय