इन्द्रजात्राको दश अवतार बन्द हुने अवस्थामा
SamacharDesk – कल्चर ब्युरो | २०७५ भाद्र ३०, शनिबार

इन्द्रजात्राको अवसरमा कुमारी घर अगाडि प्रदर्शन गरिने दश अवतार आर्थिक समस्याका कारण वन्द हुने अवस्थामा पुगेको छ । दशअवतारका कलाकारहरुले आवश्यक रकम उपलब्ध नभइरहेको र सम्बन्धित पक्षबाट यसको लागी कुनै पनि पहल पनि नभइरहेको हुँदा वन्द गर्ने अवस्थामा पुगेको बताए ।
इन्द्रजात्राको दशअवतार प्रदर्शनका लागी उपलब्ध रकम अपुग भएको र समस्या समाधानको लागी सम्बन्धित निकायबाट पहल नभएको हुँदा दशअवतार किन बन्द नगर्ने भन्दै दशअवतार प्रदर्शन तथा प्रवद्र्धन समाजले इन्द्रजात्रा व्यवस्थापन समिति र दशअवतार गुठीलाई पत्र बुझाएको हो ।
समाजको टोलीले इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य र गुठीका अध्यक्ष दिपकप्रसाद श्रेष्ठलाई वसन्तपुर कुमारी घरमा भेटेर पत्र बुझाएको हो ।
पत्र बुझाइसकेर संचारकर्मीहरुसँग कुरा गर्दै समाजले नाटक संचालनका लागी आफुहरुले निकै थोरै रकम पाउँदै आएको बताए । अहिले पाउँदै आएको रकम अपुग भएर आफुहरुले खल्तीबाट समेत पैसा हालेर जात्रा संचालन गर्नुपर्ने अवस्था रहेको उनीहरुको भनाई थियो ।
इन्द्रजात्रा जतिकै प्राचीन यस दशअवतार नाटक संचालन गर्न जम्मा ६० हजार रुपैयाँ पाउँदै आएको समितिका पर्यवेक्षक राजन शाहीको भनाई छ । गएको वर्ष आफुले पढाउँदै आएको विद्यालयबाट रु. २५,०००/– सहयोग मागेर जात्रा संचालन गरेको पनि शाहीले जानकारी दिनुभयो ।
जात्रा अवधिभर सो नाटक देखाउन कलाकारको पारिश्रमिक र श्रृङ्गार आदिको लागी मात्रै दिनको कम्तिको ८ हजार रुपैयाँ खर्च आवश्यक रहेको समितिले जनाएको छ । ८ दिन जात्रा संचालनको लागी आवश्यक प्राविधिक, सांस्कृतिक सबै व्यवस्था गर्दा कम्तिमा ३ देखि ५ लाखसम्मको रकम आवश्यक रहेको समितिको दावी छ ।
यस विषयमा इन्द्रजात्रा व्यवस्थापन समिति र दशअवतार गुठीलाई निकै पटक जानकारी गराइसकेको र उता हालसम्म आवश्यक पहल नभएको हुँदा आफुहरु दशअवतार बन्द गर्ने मनसायमा पुगेको समाजका अर्का पर्यवेक्षक शिव मानन्धरले बताए । आफुहरुले बाहिर सहयोग रकम जुटाउने भन्दापनि आवश्यक कागजात उपलब्ध नगराइएको पनि समितिले जनाएको छ ।
यसपाली दशअवतार निरन्तर होला या नहोला भन्ने पनि निश्चित नभएको मानन्धरले बताए । यसपाली जात्रा संचालन भइहाले पनि ८ दिन पुरै प्रदर्शन गर्न सकिने अवस्था विलकुलै नभएको मानन्धरको भनाई छ ।
Categorized in संस्कृति