ईन्द्रजात्राको दीप्याखंको कोषका लागी एकैदिनमा २० लाख संकलित
SamacharDesk – कल्चर ब्युरो | २०७५ आश्विन ७, आइतबार

नेपालको पहिचान भनेकै यहाँको मूर्त अमूर्त संस्कृति र सम्पदा नै भएको हुँदा यसको संरक्षणमा सबै जुट्नुपर्नेमा जनप्रतिनिधीहरुले जोड दिएका छन् । ईन्द्रजात्राको क्रममा काठमाडौंको किलागलबाट निकालिने दीप्याखं र यसको आगमघरको संरक्षणको सम्बन्धमा आज काठमाडौंमा आयोजित विचार गोष्ठीमा उपस्थित जनप्रतिनिधीले यहाँको स्थानीय संस्कृति, सम्पदाको संरक्षणमा आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीले दीप्याखंको ऐतिहासिक र सांस्कृतिक पक्षको बारेमा उजागर गर्नुभयो । काठमाडौं उपत्यकामा प्रदर्शन गरीने दीप्याखं लगायतका विभिन्न देवी नाचहरुले सभ्य र सुसंस्कृत समाज निर्माणको लागी नैतिक शिक्षा समेत दिने भएकोले यसको महत्व यूवा पुस्तालाई बुझाउनुपर्ने डा. जोशीको भनाई थियो । साथमा आर्थिक पक्षलाई सबल बनाउन सकिए यस किसिमका सांस्कृतिक सम्पदा दीगो हुनेमा पनि जोशीले जोड दिनुभयो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वर्तमान समयमा संस्कृति र सम्पदामाथि राजनीतिकरण भइरहेको भन्दै यसको संरक्षणको लागि राजनैतीक भावनाभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो । ‘स्थानीय संस्कृति, सम्पदाको लागी धेरै गर्ने इच्छा पनि छ, योजना पनि छ । तर जब योजना कार्यान्वयनका लागी कार्यक्षेत्रमा लागीन्छ, दलीय भावनाले प्रेरीत भएकाहरुले अदालतमा उजुरी हालेर बाटो रोकिदिन्छन् अनि मेयरले केही गरेन भनेर हल्ला गर्छन् । यहाँका सबै संस्कृति, सम्पदा आफ्नै हो भनेर बुझेर यसको संरक्षणका लागी सबै एकजुट भएर सहकार्य गर्न पनि सक्नुपर्छ’ मेयर शाक्यको भनाई थियो । दीप्याखं, यसको आगमघर लगायत यहाँको स्थानीय संस्कृति सम्पदा संरक्षणको लागी काठमाडौं महानगरपालिकाबाट कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता पनि कामपा प्रमुख शाक्यले व्यक्त गर्नुभयो ।
त्यसैगरी प्रदेश ३ का सांसद् रामबीर मानन्धरले यहाँका स्थानीय संस्कृति, सम्पदाको संरक्षणका लागी आफुले सांसद्हरुको सञ्जालको विकास गर्ने योजनामा आफु तल्लीन रहेको बताउनुभयो । संस्कृतिको संरक्षण हुन सके समुदायको पनि संरक्षण हुनेमा जोड दिँदै सांसद् मानन्धरले स्थानीय संस्कृतिको संरक्षणका लागी समुदाय नै एकजुट हुनुपर्ने बताउनुभयो । साथमा दीप्याखंको कोषको लागी मानन्धरले व्यक्तिगत रुपमा रु.५० हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।
त्यसैगरी पूर्व राज्यमन्त्री तीर्थराम डंगोलले स्थानीय जनता स्थानीय संस्कृतिको संरक्षणमा सचेत हुनुपर्ने तर यसैमा मात्र सिमीत हुनुनहुने विचार राख्नुभयो । ‘अब यहाँको स्थानीय जनताले देउता बोक्ने होइन, देश बोक्नुपर्छ । देउताको रथ तान्ने होइन, देशलाई तान्नुपर्छ । अनि यहाँको स्थानीय संस्कृतिको संरक्षण पनि स्वतः हुन्छ’ डंगोलले भन्नुभयो ।
आजकै कार्यक्रमबाट दीप्याखं र यसको आगमघरको संरक्षण, सम्वद्र्धनका लागी आर्थिक सहयोग पनि शुरु गरीएको छ । कार्यक्रममा उपस्थित जनप्रतिनिधीहरु, संस्कृतिप्रेमी सर्वसाधारणको तर्फबाट आजै रु.२० लाख आर्थिक सहयोग संकलन भएको छ । यसलाई बढाउँदै लग्ने यसै रकमबाट दीप्याखंको आगमघरको जिर्णोद्धार गरिने साथै दीप्याखंको दीगो व्यवस्थापनका लागी योजना तर्जुमा गर्ने दीप्याखं (देवी नाच) प्रवद्र्धन तथा संरक्षण समितिले जनाएको छ ।
