उदयपुरमा थप एक जनामा संक्रमण देखियो
SamacharDesk – विकाश | २०७७ बैशाख ९, मंगलबार

नेपालमा फेरी एक जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छ ।
उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको जनाइएको छ ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या ३२ पुगेको छ । तीमध्ये चार जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
नियमित प्रेस व्रिफिङमार्फत स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले उदयपुरबाट संकलित केही मनूना स्वाबको परीक्षण बाँकी नै रहेको जानकारी दिए ।
धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र कोशी अस्पतालमा केही नमूनाहरुको परिक्षण भइरहेको डा. देवकोटाले बताए ।
देवकोटाका अनुसार उदयपुर र वीरगंजमा संक्रमितहरु देखिएको हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सो स्थानलाई लक्षित गर्दै परिक्षण, ट्रेसिङका लागि टोलि परिचालन गरिएको छ ।
वीरगंजमा कन्ट्याक्ट ट्रेसिङको क्रममा पिसिआर विधिबाट २ सय २१ बढिको नमूना संकलन भएको छ ।
उदयपुरमा थप सय जनाको नमूना संकलन गरिएको छ भने हालसम्म ३२० वटा नमूना संकलन भइसकेको छ । दुवै स्थानमा आरडिटि विधिबाट परिक्षण निरन्तर भइरहेको जनाइएको छ ।
देशैभरि अहिलेसम्ममा पिसिआर विधिबाट ८ हजार ७ सय ६३ जनाको परिक्षण सम्पन्न भएको छ भने पछिल्लो २४ घन्टामा ३ सय ३३ जनाको परिक्षण गरिएको छ ।
आरडिटि विधिबाट २७ हजार ९ सय ५६ परिक्षण सम्पन्न भएकोमा पछिल्लो २४ घन्टामा २ हजार ८ सय ८ परिक्षण सम्पन्न भएको छ ।
प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. देवकोटाले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि देशैभर लकडाउन जारी रहेको अवस्थामा भेला भएर पूजा, प्रार्थना नर्गन पनि आग्रह गर्नुभयो । आआफ्नो आस्था अनुसारको पूजा प्रार्थना घरैमा बसेर गर्न देवकोटाको आग्रह हो ।
‘जडिबुटिबाट संक्रमण निको हुने कुरा भ्रम हो’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमै बोल्दै आयूर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जडिबुटिबाट कोभिड १९ निको हुने भन्ने भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।
विभिन्न व्यक्तिबाट विभिन्न जडिबुटिबाट कोभिड १९ रोग निको पार्ने भ्रम फैलाइएको भन्दै हालको अवस्थामा त्यस किसिमका भ्रम नफैलाउन र त्यस्तो भ्रममा नपर्न महानिर्देशक डा. उपाध्यायले आग्रह गर्नुभयो ।
नेपालमा उपलब्ध जडिबुटिहरुबाट रोगहरुसँग लड्ने क्षमता अभिवृद्धि गर्ने कुरा सहि भएपनि कोभिड निको पार्ने कुरा भ्रम मात्रै भएको उपाध्यायको भनाई हो ।
विश्व स्वास्थ्य संगठनले जारी गरेका नियमको पालना गरी जडिबुटिको सेवन गर्न सकिने तर त्यसबाट कोभिड १९ निको हुने नभई रोगसँग लड्ने क्षमता अभिवृद्धि हुन सकिने उपाध्यायले बताउनुभयो ।
आयुर्वेद वा जडिबुटिले कोभिड १९ निको हुने कसैको दावी भए आयुर्वेद विभागसँग सम्पर्क गरेर त्यस किसिमका जडिबुटि वा उपचार पद्धतीलाई अनुसन्धानमा लान पनि उहाँले आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय