उदितनारायणको नेपालभाषाको गीत
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ आश्विन १५, बुधबार

‘छंगु जिगु माया रत्न, माया रत्न’ यो गीतलाई बलिउडमै निकै ख्याति कमाइसकेका गायक उदितनारायण झाको आवाजमा सुन्न पाइने भएको छ ।
केही दिन अघिमात्रै युगल गीतमा उदितनारायणको साथमा संगीतकार, गीतकार लगायतको टोलि भारत गई यो गीतको रेकर्डिङ सम्पन्न गरेको छ ।
चलचित्र निर्देशक सुरेन्द्र तुलाधर, संगीतकार नील शाक्य, संगीत संयोजक भुपेन्द्र बज्राचार्य भारत पुगेर गीत रेकर्ड गराएका हुन् ।
‘म नेवारहरुकै टोलमा नेवारहरुसँगै हुर्केको मान्छे हुँ । मलाई नेपालभाषाको गीत गाउन पाएर निकै खुसी लागेको छ’ गीत गाउँदै उदितले यसो भनेको चलचित्र निर्देशक तुलाधरले जानकारी गराउनुभयो ।
उक्त गीत चलचित्रको लागि रेकर्ड गराएको जानकारी पनि तुलाधरले दिनुभयो । ‘तिहार लगत्तै गीत सार्वजनिक गर्ने सोचमा छु । चलचित्रको नाम चाँडै नै घोषणा गर्नेछु’ तुलाधरको भनाई थियो ।
रोमान्टिक मुडमा निकै रमाई रमाई उदितले गीत गाएको संगीतकार नील शाक्यले बताउनुभयो ।
यस युगल गीतमा उदितसँगै दिपानारायण झाको स्वर पनि सुन्न पाइने छ ।
चलचित्रमा उदितको साथमा दिपानारायणको स्वर रहनेछ भने यसै गीतलाई अर्की गायिका दिपाले पनि गाउनेछिन् । गायिका दिपा महर्जनको एकल एल्बममा भने यसै गीतलाई दिपा महर्जनले गाउनेछिन् ।
गायिका महर्जनको एल्मब सुखावति मल्टि प्रोडक्सनले बजारमा ल्याउन लागेको हो ।
Categorized in पेजथ्री