arin enterprises

उपत्यकाका २ लाख बढी परिवारलाई राहत वितरण, सवारी प्रवेशमा सेनिटाइजर अनिवार्य

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ९, मंगलबार

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन् । दैनिक सयौँ नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा आइरहेका बेला उपत्यका नगरपालिका फोरम, काठमाडौँले दुई लाख ११ हजार बढी परिवारलाई राहत उपलब्ध गराएको जानकारी दिएको हो ।

उपत्यकाका १८ मध्ये १४ वटा नगरपालिकाका प्रमुखसहित काठमाडौँको राष्ट्रिय सभागृहमा बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो जानकारी गराएको हो ।

‘अहिले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘हामीले उपत्यकामा रहेका अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर लकडाउन अवधिभर भोकै पर्नु नपरोस भनेर संयुक्त पहल गरिरहेका छौँ ।’

कोही भोकै परेको जानकारी आए उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री न. ११८० र ११३१ मा जानकारी दिन शाक्यले अपील गर्नुभयो ।

प्रमुख शाक्यले लकडाउन अवधिमै अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म काठमाडौं महानगरबाट मात्रै ५० हजारलाई बढीलाई राहत र पाँच हजार बढी प्लेट खाना खुवाउने काम भएको पनि जानकारी दिनुभयो । 

उपत्यकाका १८ मध्ये १४ पालिकाका प्रमुख उपस्थिति रहेको बैठकमा मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले विभिन्न जिल्लाबाट उपत्यकालाई ट्रान्जिट बनाएका कारण अलिक बढी समस्या देखिएको हुनसक्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । 

‘१४ वटा पालिकाले एक लाख ९९ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेको देखियो । थप चार पालिकाले १२ हजार परिवारलाई वितरण गरेको भन्नुभएको छ’ श्रेष्ठले जानकारी दिनुभयो । 

व्यक्तिको हिसाव गर्दा उपत्यकाबाट मात्रै करीब १० लाखलाई राहत वितरण गरिएको हुनसक्ने बताउनुभयो ।

‘यति हुँदा पनि राहतको अभावमा गाउँ फर्किनेहरु बढी रहेका भन्ने समाचार आइरहेका छन्’ उहाँले भन्नुभयो, ‘यो भनेको उपत्यकाकै बासिन्दा भन्दा पनि उपत्यकालाई ट्रान्जिट बनाएर गाउँ फर्किनेहरुका कारण त यस्तो देखिएको हा कि भन्ने विषयमा हामीले गम्भीर भएर छलफल गरेका छौँ । यदि त्यस्तो हो भने हामी त्यसलाई समाधान गर्नमा पनि एकजुट भएर लाग्ने छौँ ।’ 

उपत्यकामा रहेका असहाय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरणलाई निरन्तरता दिने, उपत्यका भित्र रहेका क्वारेन्टाइन सरकारको मापदण्ड भित्र रहेर सञ्चालन गर्ने, आवश्यक भए संयुक्त पहलमा क्वारेन्टाइन थप्ने लगायतका विषयमा पनि बैठकमा छलफल भएको थियो ।  

सचिव श्रेष्ठले उपत्यकाका सबै नाकाबाट आवत–जावत हुने सवारीलाई अनिवार्य सेनिटाइजर गरेर मात्रै आवत–जावतको प्रवन्ध गर्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । साँगालगायतका केही नाकाबाट सुरुवात भैसकेको र अन्य नाकाबाट पनि छिट्टै सुरुवात गर्ने तयारी रहेको श्रेष्ठले बताउनुभयो ।

Categorized in राष्ट्रिय