उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने
SamacharDesk – संवाददाता | २०७७ चैत्र २३, सोमबार

काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।
उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टीजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताइएको छ । यस्तै एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।
विद्यालयहरुमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई मास्क लगाउने देखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालय मार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचार प्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको बताईएको छ ।
Categorized in समाज