एक घर एक रक्तदाता अभियानले काठमाडौं बाहिर गति लिँदै
SamacharDesk – विकाश | २०७७ बैशाख ७, आइतबार

लकडाउनको अवस्थामा कुनै पनि विरामीलाई रगतको अभाव हुन नदिन शुरु गरिएको ‘एक घर एक रक्तदाता’ अभियान अन्तर्गत थानकोटमा रक्तदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा चन्द्रागीरी निवासी रीतुकुमार श्रेष्ठको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत रगत संकलन गरिएको हो ।
आज भएको एक घर एक रक्तदाता अभियान अन्तर्गतको रक्तदानमा चन्द्रागिरी नगरपालिका वडा नं ३ अन्तर्गत थानकोट क्षेत्रका २० जना स्थानीयले रक्तदान गरेका छन् ।
‘लकडाउनको समयमा रगतको अभाव भएको फेसबुकमार्फत जानकारी पाएकोले साथीहरुलाई रक्तदानको लागि अपिल गर्यौं’ रितुकुमार श्रेष्ठले बताए, ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेका हौं ।’
यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिपूर्वक रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सभापति योगेश कुमार शाहीले बताउनु भयो ।
प्रत्येक घरपरिवारवाट एक जनाको दरले नियमित रक्तदान गर्ने हो भने हालको अभाव सामान्य हुने सभापति शाहिको भनाई छ ।
‘एक घर एक रक्तदाता’ अभियानले महामारीको अवस्थामापनि व्यापकता लिएको देखिन्छ ।’ उपशाखाका सचिव प्रकाश अमात्यले भन्नुभयो । ‘भौतिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घर दैलोमा रगत संकलन गरिने भएको हुँदा यसले रक्त संकलन र संचारमा नौलो अभ्यासको थालनी गर्नेछ ।’
तर यसलाई निरन्तरता दिन उत्तिकै चुनौतिपुर्ण रहेको औंल्याउँदै प्रत्येक रक्तदातालाई प्रत्येक तीन महिनामा नियमित रक्तदान गराउन प्रोत्साहन गराईनुपर्ने आवश्यकता अमात्यले औंल्याउनुभयो ।
पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ ।
कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन भन्दै नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा शुरु गरेको एक घर एक रक्तदाता अभियान चौथो हप्तामा प्रवेश गरेको छ ।
Categorized in समाज