एशियन मूलुक जापान नकआउट चरणमा
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १५, शुक्रबार

समूह चरणको अन्तिम खेलमा जापान पोल्याण्डसँग १–० गोलले पराजित भयो । तरपनि जापानले खुसियाली मनाउँदै थियो । कारण, पोल्यान्डसँग हार व्यहोर्नुपरेतापनि जापान अन्तिम १६ मा पुगेको छ ।
समूहमा चार अंक बटुलेको जापान अनुशासनको आधारमा समूह एचको उप विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
जापानलाई सहजै अर्को राउन्डमा प्रवेश गर्न समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग कम्तिमा बराबरी खेल्नुपर्ने थियो । तर बिहिबार सम्पन्न खेलको ५९औं मिनेटमा बेडनारेकले गोल गरेर टिमलाई १–०को जित दिलाए ।
आजै सम्पन्न समूह एचकै अर्को खेलमा कोलम्बियाले सेनेगललाई पनि समान १–० गोल अन्तरले नै हरायो । उसको जितमा यारी मिनाले ७४ औं मिनेटमा गोल गरे ।
जितसँगै कोलम्बिया तीन खेलबाट ६ अंक बटुल्दै समूह एचको विजेताको रुपमा अर्को राउन्डमा प्रवेश गर्यो ।
कोलम्बियासँगको हारसँगै सेनेगलको पनि ४ अंक भएको थियो । तर, ४ अंक नै भएको जापान सेनेगलभन्दा दुई पहेँलो कार्ड कम खाएका कारण समूहको उप विजेतको रुपमा अर्को राउन्डमा प्रवेश गरेको हो ।
जापानले चार वटा मात्र पहेँलो कार्ड पाएको थियो भने सेनेगलले ६ वटा पाएको थियो । त्यही २ वटा कम पहेँलो कार्ड जापानको लागि रसियामा जारी विश्वकपको राउन्ड अफ सिक्सटिनको चाबी बन्न सफल भयो ।
Categorized in स्पाेर्ट्स