कामपा १७ वडामा राहत वितरण सम्पन्न
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र २७, बिहिबार

काठमाडौं महानगरपालिका १७ वडामा राहत वितरण सम्पन्न भएको छ । करीब २१ सय जनालाई राहत वितरण गरेपछि १७ वडामा राहत वितरण सम्पन्न भएको हो ।
कोही पनि भोकै बस्न नपरोस् भन्ने अवधारणासहित डेरावाला मात्रै नभई घरपेटि वा सडकमै सुत्न वाध्यहरुलाई पनि राहत सामग्री वितरण गरिएको कामपा १७ वडाका वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिनुभयो ।
वर्तमान अवस्थालाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्दै सुरक्षित तरीकाले राहत वितरण गरिएको उहाँले बताउनुभयो ।
अहिले लकडाउनमा प्राय सबैको आम्दानी ठप्प भइरहेको खर्च भने नरोकिने अवस्थामा रोजगारी गरीरहेकाहरुलाई पनि आर्थिक समस्या भएमा वडाबाटै उधारोको व्यवस्था मिलाउने सोच पनि आफुले बनाइरहेको उहाँले बताउनुभयो ।
रेडक्रसकर्मी समेत रहेका वडाध्यक्ष मानन्धरले रेडक्रसको तर्फबाट पनि मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने खालका सचेतनामूलक कार्यक्रमहरु भइरहेको बताउनुभयो ।
मनोवैज्ञानिक समस्या पनि आउनसक्ने सम्भावनालाई ध्यानमा राखेर रेडक्रसबाट विभिन्न मनोवैज्ञानिक परामर्श दिँदै गरेको उहाँको भनाई थियो ।
लकडाउनको समयमा नकारात्मक विचारहरु आउन नदिइ यसलाई सदुपयोग गर्न समेत वडाध्यक्ष मानन्धरले सुझाव दिनुभयो ।
‘यो एउटा मौका पनि हो, हिजो छुटेका काम आज सम्पन्न गर्ने, परिवारलाई समय दिने, लेखक भए लेख्ने आदि कामहरु गरेर बस्न सकिन्छ । साथै टेलिभिजन हेरेर मनोरन्जन लिनुका साथै वर्तमान अवस्थाबारे अद्यावधिक भइरहने, रोकथामका उपायहरुबारे जानकारी लिने काम पनि गरौं’ मानन्धरको भनाई थियो ।
१७ वडामा जम्मा ५ जना विदेशबाट फर्केका व्यक्तिहरु रहेको र तिनीहरुलाई वडाले निरन्तर निगरानी गरेको उहाँले बताउनुभयो । साथै ती सबै व्यक्तिको १४ दिनको क्वारेन्टिन समय नाघिसकेको र कसैलाई कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको पनि उहाँले बताउनुभयो ।
गत मंगलबार काठमाडौं महानगरपालिका १७ वडाका वडाध्यक्ष नवीन मानन्धरसँग भएको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
Categorized in समाज
