arin enterprises

कार्तिक नाचमा नरसिंह नाच सम्पन्न

SamacharDesk – आकाश राजोपाध्याय | २०७५ मङ्सिर ६, बिहिबार

ललितपुरको प्रशिद्ध कार्तिक नाचको मुख्य प्रस्तुतिको रुपमा लिइने नरसिंह अवतार बुधबार सम्पन्न भएको छ । गत कार्तिक २६ गतेबाट शुरु भएको कार्तिक नाचको दशौं दिन मंगलबजारको कार्तिक डबलीमा नरसिंह अवतार प्रदर्शन भएको हो ।

हिरण्यकशिपु वध भनेर पनि प्रशिद्ध कार्तिक नाचको नरसिंह अवतार हेर्नका लागी मंगलबजारमा ठुलै घुइँचो लागेको थियो । मंगलबजारस्थित मंगःहितिको वासः हितिमा पानी सुकेपछि दैत्यलाई कसरी ब्युँताइन्छ होला भन्ने उत्सुकताले पनि सर्वसाधारणको भीड लागेको थियो ।

नरसिंह अवतार प्रदर्शनको क्रममा नरसिंहले दैत्यलाई छोएपछि दैत्य मुर्छित हुने गर्दछ भने मुर्छित दैत्यलाई वासःहितिबाट चोखो पानी ल्याइ मन्त्रसोधन गरी उक्त पानी ख्वाएपछि ब्युँतिने गर्दछ । तर यसपाली वासः हितिमा पानी पुरै सुकेको अवस्थामा दैत्य ब्युँताउन समस्या देखिएको थियो । दैत्य ब्युँताउन चोखो पानीको लागी वासः हितिबाट कृतिम रुपमा पानी बगाईएको थियो ।

३७३ वर्ष पहिले राजा सिद्धिनरसिंह मल्लले आफ्ना शिक्षा गुरु हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायको सहयोगमा कात्तिक नाचको शुरुवात गरेका थिए । त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिनामा कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो । पछि सिद्धिनरसिंहकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३० मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिनसम्म नाच चलाएको इतिहासमा पाइन्छ । त्यसपछि श्री निवासका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएको इतिहासकारहरूको भनाई रहेको छ ।

यो क्रम वि.सं. २००७ सालसम्म चल्यो । २००८ सालदेखि २०३७ सालसम्म बराह नाच र नरसिंह नाचमात्र प्रदर्शन गरी दुई दिन मात्र सञ्चालन भयो । वि.सं. २०३८ सालमा कात्तिक नाच प्रबन्ध समितिको गठन भएपछि प्रत्येक वर्ष कात्तिक नाच सञ्चालन हुँदै आएको पाइन्छ ।

तत्कालीन समयकै परम्परालाई निरन्तरता दिँदै हालसम्म पनि कार्तिक नाचमा नरसिंहको भूमिका हरिवंश उपाध्यायकै वंशज ललितपुर महाःद्यःननिका राजोपाध्याय ब्राम्हणहरुले निर्वाह गर्दै आएका छन् भने दैत्य ब्युँताउने काम विश्वनाथ उपाध्यायका वंशज ललितपुर पट्को टोल निवासी राजोपाध्याय ब्राम्हणहरुले गर्दै आएका छन् । दैत्यको भूमिका भने सुन्धारा ललितपुरका चित्रकारले निर्वाह गर्ने गरेका छन् ।

कात्तिक महिनाभरि सञ्चालन गरिने भएकाले यस नाचको नाम नै कार्तिक नाच रहन गएको बताइन्छ । कार्तिक नाचमा नृसिंह अवतारको साथमा वराह अवतार, बाथः प्याखं, युद्धकला, कृष्ण, महादेव, देवी प्याखं, द्यःला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधुकैटव वध, वस्त्रहरण लीला प्रस्तुत गर्ने गरिन्छ । 

नेपालको सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा यस नाचलाई लिइन्छ । सांस्कृतिक दृष्टिकोणबाट पनि यो नाच महत्वपूर्ण मानिन्छ । यस नाचले सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल र योगनरेन्द्र मल्लका शासनकालको पनि स्मरण गराउने गरेको छ ।

Categorized in संस्कृति