arin enterprises

कास्कीमा कोरोना संक्रमित भनिएकाको पुष्टि हुन बाँकि

SamacharDesk – विकाश | २०७६ चैत्र २१, शुक्रबार

नेपालमा कोरोनाका सातौं संक्रमित भनिएका व्यक्तिको रिपोर्ट पुष्टि हुन बाँकि रहेको बताइएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कास्कीका एक व्यक्तिको पहिलो परिक्षणमा संक्रमण पोजेटिभ देखिएको जनाएको हो । चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ देखिएको र थप पुष्टिका लागि काठमाडौं पठाइएको छ ।

काठमाडौंबाट रिपोर्ट आएपछि मात्रै यसको पुष्टि गरिने गण्डकी प्रदेश सरकारले जनाएको छ ।

गण्डकी प्रदेश स्तरीय कोरोना नियन्त्रण तथा ब्यवस्थापन समन्वय समितिका संयोजक एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोेरोना नै हो भन्नका लागि विभिन्न आधारहरुको विश्लेषण गर्नुपर्ने भन्दै आजै साँझसम्म थप रिपोर्ट आउने बताए ।

पिसीआर मेसिन परीक्षणको रुपमा सञ्चालन गरेको र परीक्षणको क्रममा एकजनाको रिपोर्ट कोरोना पोजिटिभ देखिएको उनको भनाई छ ।

पोजिटिभ भनिएका ब्यक्ति अहिले पनि होम क्वारेन्टाइनमै छन् ।

नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् ।

Categorized in राष्ट्रिय