कोरोनासँग जित्न सकिन्छ, तर अनुशासित हुनु जरुरी छ
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र २९, शनिबार

प्राय विश्वभरी नै कोरोना भाइरस कोभिड १९ को महामारी फैलिएको अवस्था छ । हाम्रो देश नेपाल पनि यसबाट अछुतो रहन सकेन । यहाँ पनि अहिलेसम्म ९ जनामा संक्रमण देखिसकेको छ भने एकजना निको भएर घर समेत फर्किसकेको छ ।
यस संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गत चैत्र ११ गतेदेखि नेपालभरि लकडाउन लागू गरेको अवस्था छ । प्रायले यो लकडाउनलाई कडाईका साथ नै पालना गरेको देखियो भने कसैलाई नेपालमा महामारी भएकै छैन, किन लकडाउन गर्नुपरेको छ र भन्ने खालको मानसिकता बोकेको देखियो । नेपालमा केही हुन्न, हामी किन डराउनुपर्ने छ र भन्ने खालका भनाई पनि सुनियो ।
यहि परिवेशमा हामीले बुझ्नुपर्ने, सम्झिनुपर्ने केही विषयहरु छन् जस्तो लाग्छ । तीनै विषयहरुलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गर्न चाहें, पाठकवर्गले यसलाई समय दिएर पढ्नुहुनेछ र विचार गर्नुहुनेछ भन्ने आशा छ ।
बाहिरी देशको अवस्था :
१. ईटालीमा पनि अहिले लकडाउनकै अवस्था छ । तर पनि यहाँ यो सामग्री तयार भइरहँदासम्म १ लाख ४७ हजारभन्दा बढिलाई यस भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै १८ हजार ८ सयभन्दा बढिले यहि भाइरसको संक्रमणका कारण ज्यान पनि गुमाइसकेका छन् ।
लकडाउनमा पनि यहाँ दिनको ३ हजार ५ सयभन्दा बढि विरामी कसरी थपिरहेका छन् त ? यो सन्दर्भमा अहिलेको अवस्थाभन्दा विगतका दिनको अवस्थाले धेरै ठुलो भूमिका खेलेको छ ।
ईटालीमा लकडाउनलाई खासै वास्तै गरिएन । त्यहाँका बासिन्दाहरु लकडाउन उल्लंघन गर्दै घरबाट बाहिर निस्किने क्रम नरोकिएपछि ईटालियन सरकारले अनावश्यक निस्किनेलाई २ सयदेखि ५ सय युरोसम्म जरिवानाको नियम लागू गर्न बाध्य भयो ।
लकडाउनलाई बेवास्ता गरिँदाको परिणाम अहिले विश्वसामु छ ।
२. विश्वभरिमा सबैभन्दा बढि संक्रमितको संख्या संयुक्त राज्य अमेरिकामा देखियो । यो सामग्री तयार भइरहँदासम्म अमेरीकामा संक्रमितको संख्या ५ लाख नाघिसक्यो । त्यस्तै १८ हजार ७ सयभन्दा बढिको मृत्यु भइसक्यो । त्यहाँ अहिलेसम्म लकडाउन भएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा लकडाउन हुँदैन भन्दैगर्दा त्यहाँ संक्रमितको संख्या बढ्दै नै गइरहेको छ । केही राज्यले लकडाउन गरेतापनि त्यहाँ पनि लकडाउन उल्लंघन गर्नेको संख्या उस्तै छ । समयमै आवश्यक कदम नचालिँदाको नतिजा हामीले हेरिहेकै छौं ।
३. चाइनाको उहान शहर कोरोना भाइरसको उद्मग स्थल भनिएको छ । यो भाइरसको उत्पत्ति चाइनाको उहान शहरमा भयो र चाइनामा पनि करीब ८२ हजारलाई यो भाइरसको संक्रमण भइसकेको अवस्था छ । ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाउँदा उपचार पछि निको हुनेको संख्या पनि ठुलै छ । अहिलेसम्म ७७ हजार ५ सय भन्दा बढिले उपचारपछि स्वास्थ्य लाभ गरिसकेका छन् ।
प्राय सबैले मानव अधिकारको उल्लंघन गरेको भन्दै आलोचना गरिरहँदा चाइनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि लकडाउन जस्तो कठोर पाइला चाल्यो । जनताले पनि निकै अनुशासनमा बसी लकडाउनलाई कडाइका साथ पालना पनि गरे । करीब तीन महिनापछिको नतिजा अहिले त्यहाँ नयाँ संक्रमणको संख्या निकै घटेको छ र लकडाउन पनि खोलिएपछि सामान्य जनजीवनतर्फ वुहान फर्किन थालेको छ ।
नेपालको अवस्था :
नेपाल पनि अहिले लकडाउनको अवस्थामा छ । गत चैत्र ११ गते एक साताको लागि लागू भएको लकडाउन अहिले दुइपल्ट थप भएर बैसाख ३ सम्म पुगिसकेको छ । फ्रान्सबाट फर्किएकि एक १९ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमणको पुष्टि हुने वित्तिकै नेपाल सरकारले यहाँ लकडाउन लागू गर्यो ।
नेपालको अवस्था हेर्ने हो भने अहिलेसम्म त सुरक्षित नै देखिन्छ । जम्मा ९ जनामा संक्रमण देखिएको छ । लकडाउनभन्दा केही अघि नै वुहानबाट फर्केका एक जनामा संक्रमण देखिएको थियो भने उनी उपचार पछि निको भएर घरै फर्किसके । त्यो बेला वुहानबाहेक अन्य देशमा यो भाइरसको संक्रमण नदेखिएको अवस्थामा यसतर्फ धेरैको ध्यानै गएन भनौं वा गम्भीरताका साथ लिइएन ।
तर अहिले ठुलठुला विकसित मूलुकहरुमा संक्रमणले महामारीको रुप लिएपछि नेपाल पनि गम्भीर बनेको छ ।
अब बाँकि ८ जना संक्रमितको पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको र अर्को सातामै राम्रो खबर आउने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।
नेपालमा चिन्ता किन त ?
अहिले सीमा बन्द गरिएको छ भनौं पनि भारतमा रहेका नेपालीहरु लुकिछिपि भारतबाट नेपाल छिर्ने गरेको पाइएको छ
डब्लुएचओको मापदण्ड अनुसार त नेपाल संक्रमणको दोश्रो चरणमा पुगिसकेको छ । स्थानीय व्यक्तिमै संक्रमण अथवा भनौं लोकल ट्रान्समिसन देखिएपछि नेपाल संक्रमणको दोश्रो चरणमा पुगेको हो । तेश्रो चरण भनेको समुदायमा संक्रमण देखिनु हो ।
यहाँ अहिलेसम्म तेश्रो चरणको सम्भावना त देखिएको छैन । दोश्रो चरणको कुरा गर्दा पनि एकजना मात्रै स्थानीयमा संक्रमण सरेको देखियो । त्यो हिसाबले पनि नेपाल अहिलेसम्म सुरक्षित देखिएको हो तर हामी ढुक्क हुनसक्ने अवस्था पनि छैन ।
थोरै संख्यामा मात्र संक्रमण देखिएको भन्दाखेरी यहाँ परिक्षण पनि थोरै संख्यामा भइरहेको कुरा हामीले बिर्सनुहुन्न । अमेरीकामा धेरै संक्रमण देखिरहेको अवस्थामा एक दिनमा २० हजारभन्दा बढि नयाँ संक्रमण पनि भेट्टिएको छ । त्यसो भन्दै गर्दा दिनकै २० हजारभन्दा बढि परिक्षण भइरहेको भनेर पनि बुझ्न सकिन्छ । तर नेपालमा ५ सयको हाराहारीमा परिक्षण भइरहेको छ ।
हामी ढुक्क बस्न नसक्नु वा बस्न नहुनुको अर्को कारण भनेको हाम्रो छिमेकी मूलुक पनि हो । एउटा छिमेकी मूलुक चीनमा भाइरस करीब नियन्त्रणमा आएर लकडाउन खुलिसक्दा अर्को छिमेकी मूलुक भारतमा भने बढ्दो अवस्थामा छ ।
खुला सीमा भएकै कारणले पनि भारतमा संक्रमण बढ्नु भनेको नेपालमा पनि जोखिम बढ्नु हो । अहिले सीमा बन्द गरिएको छ भनौं पनि भारतमा रहेका नेपालीहरु लुकिछिपि भारतबाट नेपाल छिर्ने गरेको पाइएको छ । अहिले उपचाररत ८ जनामध्ये एक पनि त्यसरी नै लुकिछिपि भारतबाट नेपाल आएका हुन् ।
भारतीय नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थित तरीकाले नेपाल ल्याई सरकारले नै क्वारेन्टिनमा राखेर नाका पुरै बन्द नगरिँदासम्म भारतीय सीमानाकाको सवालमा ढुक्क हुन सकिन्न । नत्र उता अलपत्र परेका नेपाली लुकिछिपि नआउला पनि भन्न सकिन्न र ढुक्क हुने अवस्था पनि रहन्न ।
नेपालमा लकडाउन किन आवश्यक ?
माथि उल्लिखित सबै विषयमा ध्यान दिन सकिए नेपाल सुरक्षित छ नै, किन लकडाउन गर्नुपर्यो त ? यो प्रश्न पनि नसुनिएको होइन । नेपालमा अहिले महामारीको अवस्था छैन तरपनि यहाँ महामारी नहोस् भन्नका लागि हामी अहिले नै सजग र सतर्क हुनुपर्ने हो ।
नेपालको तुलनामा ठुला विकसित मूलुकहरुमा अस्पताल, चिकित्सक, उपकरण आदि सबै पर्याप्त मात्रा छ । तर वर्तमान समयमा ती ठुला विकसित मूलुकलाई पनि यो महामारी ठेग्न हम्मे हम्मे परिरहेको छ । चाइनालाई संक्रमण नियन्त्रणमा लिन कम गार्हो भएको थिएन । स्पेनमा अहिले महामारी नियन्त्रणमा आउन थालेको बताइएको छ । यो सजिलै भएको होइन ।
नेपालको सन्दर्भमा हेरियो भने यहाँ अस्पताल लगायतका भौतिक पूर्वाधार, डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी, भेन्टिलेटर, चिकित्सकलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायतका सामग्री आदि केही पनि पर्याप्त संख्यामा उपलब्ध छैन । स्यानिटाइजर, साबुन लगायतका सामग्रीसम्म पनि बाहिरी देशमा निर्भर रहनुपर्ने अवस्था छ ।
विकसित मूलुकलाई त महामारी थेग्न धौधौ परिरहेको अवस्थामा नेपालमा महामारीको अवस्था भएमा नेपालले यसलाई सामना कसरी गर्ने भनेर कल्पनासम्म पनि गार्हो छ ।
बाहिरी देशमा चिकित्सक पनि यसबाट संक्रमित भएको समाचार आइरहँदा नेपालको सन्दर्भमा यस्तो भएमा सोचौं, उपचार कसले गर्ने हो ?
यहाँको अवस्था अनुसार महामारीसँग जुध्ने होइन, संक्रमणलाई फैलिन नदिने तयारीमा जुट्नु आवश्यक छ । अनुशासित, संयमित भएर सामाजिक दुरी कायम गर्दै भाइरसको चेनलाई तोड्नुको विकल्प नेपालसँग छैन भन्दा फरक नपर्ला ।
सुझाव :
संक्रमण फैलिन नदिनको लागि अहिलेको प्रभावकारी उपाय भनेको सामाजिक दुरी कायम राख्नु नै हो । साबुन पानीले बेला बेलामा हातखुट्टा धुने, स्यानिटाइजरको प्रयोग गर्नुका साथै सामाजिक दुरी कायम राख्नु नै राम्रो देखिएको छ । अहिले केही टाइम लकडाउनको दुःखलाई सहनु, जात्रापर्व, रमाइलो, भोजभतेर आदि त्याग्नु नै यो बेलामा बुद्धिमानी हुनेछ ।
स्थिती नियन्त्रणमा आएको देखिएपछि लकडाउन त विस्तारै खुल्नेछ । तर यसको अर्थ हामी पुरै सुरक्षित भयौं भन्ने पनि हुन्न । चाइनामा लकडाउन खुलिसक्दा केही संख्यामा अझै नयाँ संक्रमण देखिरहेको अवस्था छ, भलै त्यो बाहिरबाट भित्रिएको किन नहोस् ।
त्यसैगरी ताइवानमा पनि लकडाउन गरिएको छैन । तर त्यहाँ ३ सय ८५ जनालाई संक्रमणको पुष्टि भइसकेको छ भने ६ जनाको मृत्यु भइसकेको छ । तर त्यहाँ चाहिने सावधानी अपनाइएको बताइएको छ ।
लकडाउन खुलिसक्दा पनि केही समय, केही महिना सबैले सावधानी अपनाउनुपर्ने देखिन्छ । साबुन पानीले हातखुट्टा धुने र स्यानिटाइजरको प्रयोग त हामीले आजीवन गरिरहनु नै राम्रो हो । केही समयको लागि जमघट, भीडभाडभन्दा टाढा रहने, सामाजिक दुरी कायम राख्नेतर्फ पनि हामी निकै सजग रहनुपर्ने देखिन्छ ।
चाइनाले यो भाइरसलाई सजिलै कहाँ नियन्त्रणमा लिएको हो र ? चाइनिजहरुले त समाजमा मात्र होयन, परिवारमै दुरी कायम गर्दै यो भाइरससँगको लडाइँ जितेको बताइन्छ । एउटा परिवारै पनि अलग अलग कोठामा बसेर, फोनबाट अथवा च्याटबाट मात्र कुराकानी गरी दुरी कायम गर्दै बसेको चाइनामै बसेकाहरुले बताएका छन् । उनीहरुको यत्तिको त्याग र दुःखपछि लगभगमा तीन महिनामा भाइरससँगको लडाइँ जिते ।
निष्कर्ष :
भनिन्छ, सफल बन्न गार्हो छैन । सफल व्यक्तिको पाइला पछ्याए सफलतासम्म पुग्न सकिन्छ । त्यसैगरी असफल व्यक्तिबाट पनि सफलताको पाठ सिक्न सकिन्छ । असफल व्यक्तिले गरेका असफल कामहरु हेर्दै यसरी असफल भइने रहेछ भनेर थाहा पाइन्छ ।
हामीले ईटालीको कुरा सुन्यौं, अमेरीकाको कुरा सुन्यौं । त्यहाँ कसरी संक्रमणले महामारीको रुप लियो उताबाट बुझ्न सकिन्छ । त्यो काम हामीले नगरौं । अरुले गरेका गलती हामी नदोहोर्याउँ । चाइनाले कसरी भाइरसलाई जित्यो, त्यो बुझौं । त्यहि अनुसार अघि बढौं ।
Categorized in बिचार