arin enterprises

प्रधानमन्त्री कार्की र नेपाली काँग्रेस महामन्त्रीद्वयबीच भेटवार्ता

SamacharDesk – बिराज | २०८२ कार्तिक १५, शनिबार

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर छलफल गरेकी छन् ।

आज करिब एक घण्टा चलेको छलफलको क्रममा आगामी निर्वचनका लागि हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएको तयारीको बारे कुराकानी भएको बताइएको छ ।

कुराकानीको क्रममा आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा पनि खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए । छलफलमा महामन्त्रीद्वयले औपचारिक निर्णय गर्न बाँकी भएपनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध रहेको बताए ।

महामन्त्रीद्वयले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए ।

‘जेनजीलगायत सबै राजनीतिक दलहरुसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचन अघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्छ’ महामन्त्रीद्वय थापा र शर्माको भनाई हो ।

प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन् ।

Categorized in राजनीति
SKIP THIS tihar2082