कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी - भाग १
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र ९, आइतबार

संसारभरी जसो कोरोना भाइरसको संक्रमण फैलिएको अवस्था छ । यो भाइरसको शुरुवात नै नेपालको छिमेकी मुलूक चाइनाबाट भयो भने अहिले अर्को छिमेकी राष्ट्र भारतमा यसको संक्रमण फैलँदो छ ।
हुन त अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । एकजनामा देखिएको पनि निको भइसकेको छ । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिनु भनेको यो भाइरस नेपालमा आउने नै छैन, सारा नेपाली यस भाइरसबाट सुरक्षित छ भन्ने पनि होइन ।
नेपालीमा सरसफाईको सवालमा लापरवाहीको साथै भारतसँगको खुला सिमानाका कारण पनि नेपालमा यसको जोखिम कम छैन ।
नेपाल सरकारले अत्यावश्यक सेवा बाहेक सबै सेवा २१ गतेसम्मका लागि बन्द गर्न र आम नागरिकलाई अत्यावश्यक कामको लागि मात्र निस्कन, अन्य बेला घरमै बस्न निर्देशन दिइसकेको छ ।
यतिबाट भाइरसबाट केही सुरक्षित त हुन सक्ला तर सतर्कता, सावधानीको साथमा योजना र पूर्वतयारी पनि आवश्यक छ । यस्तो अवस्थामा स्थानीय तह अन्तर्गतका वडा कार्यालयहरुले आफ्नो वडालाई संक्रमणबाट सुरक्षित राख्न के कस्ता योजना, पूर्व तयारीहरु गरिरहेका छन्, यो सम्वन्धी जानकारीमूलक सामग्रीहरु श्रृङ्खलावद्ध रुपमा समाचारडेस्कले तपाईँहरु समक्ष राख्नेछ ।
कामपा वडा नम्बर २५को कार्यालय काठमाडौंको जनबहाल, मासंगल्लीभित्र छ । सधैंजसो भीडभाड रहने यो कार्यालयमा अहिले भने खासै भीड थिएन । ‘सेवा त रोकिएको छैन, आउने सेवाग्राहीलाई सेवा दिइरहेका छौं । तर अहिले सेवाग्राही नै कम आउने गरेका छन्’ वडा सदस्य डार्विन श्रेष्ठले जानकारी गराउनुभयो ।
वडा कार्यालयमा पुग्ने वित्तिकै साबुन पानीले हात धुने व्यवस्था मिलाइएको थियो भने कोठामा पस्नु अघि स्यानिटाइजर हातमा दिइन्थ्यो । केन्द्रबाट प्राप्त मास्कहरु स्थानीय संघसंस्थाको सहयोगबाट वितरण थालिएको वडा सदस्य श्रेष्ठले बताउनुभयो । साथै उग्रतारा महिला तथा वालविकास केन्द्रबाट ६ हजार थान मास्क खरिद गर्न लागिएको र सो मास्क प्राप्त भएपछि वितरण गरिने पनि श्रेष्ठको भनाई थियो ।
टोलटोलमा पानीको व्यवस्था गरी हात धुने व्यवस्था गरिने र सचेतनामूलक कार्यक्रमहरु हुने बताँउदै २५ वडाका सबै स्थानहरुमा इएम छर्किनको लागि तयारी भइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।
१८ वडा कार्यालयमा वडाध्यक्ष न्हुछेँकाजी महर्जन कार्यालयमै व्यस्त थिए । उक्त वडा कार्यालयमा जनस्वास्थ्य क्लिनिक पनि निरन्तर संचालनमा रहेको छ । क्लिनिकमा र वडा कार्यालयमा स्यानिटाइजर राखिएको छ । क्लिनिक वा कार्यालयमा पस्नु अघि हातमा स्यानिटाइजर दिइन्छ ।
वडामा माइकिङको साथै पर्चा वितरण गर्दै सचेतनामूलक कार्यक्रम संचालन भइरहेको वडाध्यक्ष महर्जनले जानकारी गराउनुभयो । केन्द्रबाट १ हजार थान मास्क प्राप्त भएको र सो मास्क वडाभरि वितरण गर्न अपुग भएकोले वडा कार्यालय आउने सेवाग्राहीहरुलाई मात्र वितरण गरिएको उहाँले बताउनुभयो ।
उक्त वडामा करीब ११ हजार जतिको संख्यामा वसोवास भएको बताउँदै महर्जनले कुनै संघसंस्थाबाट मास्कको उत्पादन भइरहेको छ भने सम्पर्क गर्न अनुरोध गर्नुभयो । सो संस्थासँग मास्क खरिद गरेर वडामा वितरण गर्ने योजना रहेको उहाँले प्रष्ट्याउनुभयो ।
कामपा वडा १५ भने यस विषयमा निकै सक्रिय रहेको पाइयो । वडा कार्यालय परिसरमै ह्यान्ड वासले हात धुने व्यवस्था मिलाइएको छ भने कार्यालय भवनको ढोकैमा स्यानिटाइजर राखिएको छ ।
सिम्रिक पोली क्लिनिकसँगको सहयोग र नेपाल प्रहरी, नेपाली सेनाको साथमा स्थानीयको सहकार्यमा स्वयम्भु भगवानपाउमा हेल्थ डेस्क संचालन गरिएको कामपा प्रवक्ता समेत रहेका १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराउनुभयो ।
आवश्यक सरसल्लाह, परामर्श दिनुको साथै आवश्यकता को आधारमा चिकित्सक पनि सो हेल्प डेस्कमा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।
गत चैत्र ७ गते शुक्रबाटै वडाभित्र इएम छर्किने अभियानको थालनी भइसकेको जानकारी महिला वडा सदस्य मैयाँलक्ष्मी महर्जनले गराउनुभयो । वडाध्यक्ष र आफु पनि सक्रिय रहँदै वडाभित्र विभिन्न स्थानमा अर्गानिक स्यानिटाइजर प्रयोग भएको इएम छर्किन थालिएको महर्जनले बताउनुभयो ।
Categorized in राष्ट्रिय