arin enterprises

माउन्ट एल्ब्रसमा नेपाली गौरवः तामाङको २००औँ सफल आरोहण

SamacharDesk – बिराज | २०८३ श्रावण १०, आइतबार

काठमाडौं । माउन्टेन गाइड पर्वतारोही चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’मा दुई सयौँ सफल आरोहण गरेका छन् ।

तामाङले ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रसमा दुई सयौं पटक सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ गौरव थपेका हुन् ।

रुसको समयअनुसार जुलाई २५ शनिबार बिहान ६ः२० बजे माउन्ट एल्ब्रसको चुचुरोमा पुगेर उनले यो दुर्लभ उपलब्धि हासिल गरेका हुन् ।

यो ऐतिहासिक आरोहण अघि पनि तामाङले लगातार अन्तर्राष्ट्रिय टोलीहरूको नेतृत्व गर्दै सफल आरोहणरू सम्पन्न गरेका थिए ।

त्यसपछि जुलाई २२ मा अन्तर्राष्ट्रिय टोलीसँग एक सय ९८औँ तथा जुलाई २३ मा अर्को अन्तर्राष्ट्रिय टोलीसँग एक सय ९९औँ सफल आरोहण गरेका तामाङले अन्ततः जुलाई २५ मा आफ्नो बहुप्रतीक्षित दुई सयौँ आरोहण सम्पन्न गरेका हुन् ।

तामाङले आफ्नो दुई सयौं आरोहणका क्रममा नेपालको राष्ट्रिय झण्डा माउन्ट एल्ब्रसको चुचुरोमा फहराएका छन् ।

उनले प्रत्येक आरोहणमा नेपाली राष्ट्रिय झण्डा शिखरमा पुर्याउँदै अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान र नेपाली पर्वतारोहीहरूको योगदानलाई निरन्तर उजागर गर्दै आएका छन् ।

को हुन् तामाङ

सोलुखुम्बु जिल्लामा जन्मेका तामाङले क्रमशः पर्वतारोहणसम्बन्धी सीप हासिल गरे र सन् १९९५ देखि व्यावसायिक पर्वतारोहणमा सक्रिय बने ।

तामाङ सन् २००२ देखि रुसमा बसोबास गर्दै आएका छन् । हाल उनले आफ्नो समय नेपाल र रुसबीच बाँड्दै आएका छन् ।

नेपालमा रुसी आरोहीहरूलाई विभिन्न हिमाल आरोहण गराउने र रुसमा अन्तर्राष्ट्रिय आरोहीहरूलाई एल्ब्रस आरोहण गराउने कार्यमा उनी सक्रिय छन् ।

एल्ब्रसबाहेक उनले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा, चोयु, मनास्लु, अमादब्लम, बरुण्त्से, आइसल्यान्ड पिक र मेरा पिक लगायतका हिमालहरु सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

Categorized in राष्ट्रिय