arin enterprises

खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर भत्काइयो

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ बैशाख १४, शनिबार

काठमाडौंको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु डोजर चलाई भत्काइएका छन् । जनदवाव र विरोध बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले आज डोजर चलाई व्यावसायिक सटरहरु भत्काएको हो ।

कामपा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा महानगर प्रहरी लगायतको टोलिले खुलामञ्चको उत्तरी क्षेत्रमा बनाइएको ४३ वटा सटर भत्काएको हो ।

सो समयमा कामपा मेयर विद्यासुन्दर शाक्य, काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको पनि उपस्थिती थियो ।

पुरानो बसपार्कमा निर्माणाधीन भ्यू टावरको निर्माण अवधिभरका लागि खुलामञ्चको उत्तरी भागमा अस्थायी बसपार्र्क संचालनमा छ । भ्यू टावर निर्माणको ठेक्का पाएको कम्पनी जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिलाई कामपाले सार्वजनिक सौचालय, टिकट काउन्टर, औपधी पसल र खाजा खाने पसल संचालनको लागि अनुमति दिएको थियो ।

तर कम्पनीले व्यावसायिक प्रयोजनमा यहाँ ५२ भन्दा बढि सटर निर्माण गरिसकेको थियो । अनाधिकृत रुपमा बनाइएका यी सटरहरुमा कम्पनीले प्रति सटर १५ लाखमा विक्री गरेको सार्वजनिक भएपछि यसको चौतर्फी विरोध हुन थालेको थियो ।

गैर कानूनी रुपमा, अवैध तरिकाले बनाइएको सटरमा पसल थाप्नको लागि महानगरपालिकाले भनेको थियो र ?

मेयर शाक्यले गत चैत्र २४ गते नगरसभाबाटै उपमेयर हरिप्रभा खड्गीलाई यस सम्बन्धमा अनुगमन गरेर प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको भन्दै गर्दा उपमेयर खड्गीले भने यस सम्वन्धमा आफुलाई गत शुक्रबारमात्र औपचारिक जानकारी आएको बताएकि थिइन् ।

पछिल्लो समय खुलामञ्चलाई खुला राखौं भन्दै अभियान नै सञ्चालन भएपछि कामपालाई पनि यी सटरहरु भत्काउन दवाव परेको हो ।

सटर भाडामा लिएका व्यवसायीहरुले क्षतिपुर्ति वा वैकल्पिक व्यवस्थाको माग गरे के गर्नुहुन्छ भन्ने प्रश्नमा मेयर शाक्यले समाचारडेस्कलाई यस्तो भने, ‘गैर कानूनी रुपमा, अवैध तरिकाले बनाइएको सटरमा पसल थाप्नको लागि महानगरपालिकाले भनेको थियो र ? क्षतिपुर्ति दिन सकिन्न ।’

Categorized in राष्ट्रिय