खुला विश्वविद्यालयमा दुइ नयाँ कार्यक्रम शुरु
SamacharDesk – समाचारडेस्क ब्युरो | २०७५ भाद्र २२, शुक्रबार

नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायले मास्टर अफ बिजनेस् एडमिनिस्ट्रेसन (एमबिए) र मास्टर अफ साइन्स इन डेभलपमेन्ट म्यानेजमेन्ट एन्ड गभर्नेन्स (एमएसडीएमजी) कार्यक्रम शुरु गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा।डा। देवराज अधिकारीले नेपालकै पहिलो खुला विश्वविद्यालयमा उक्त दुई कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा सदस्य सचिव अधिकारीले उक्त विश्वविद्यालय नेपाल सरकारकै पूर्ण लगानीमा खुलेको उल्लेख गर्दै यसले नेपालका ७७ वटै जिल्लामात्र हैन विदेशमा बसेका नेपालीलार्इृ पनि समेटेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । आफ्नो कामको निरन्तरता सँगसँगै घरैमा बसेर उच्चशिक्षाको लागी अध्ययन गर्न सकिने अवस्थामा विद्यार्थीले पनि उत्तिकै गम्भीर भई मेहनत गर्नको लागी अधिकारीले सुझाव दिनुभयो ।
विश्वविद्यालय व्यवस्थापन टास्क फोर्सका सदस्य प्रा डा पुष्कर बज्राचार्यले घरघरमा उच्चशिक्षा पुर्याउने उद्देश्यले नेपालमा खुला विश्वविद्यालयको शुरुवात सन् २०१६मा भएको जानकारी दिनुभयो । अबको २० बर्षपछि विश्वमै ९० प्रतिशत खुला विश्वविद्यालय हुने दावी पनि बज्राचार्यको थियो ।
विश्वविद्यालयका रजिष्टार कमल ढकालले कामको साथै आफ्नो अनुकुल स्थानमै स्मार्टफोन, ल्यापटप, डेस्कटप जस्ता नयाँ प्रविधीको सहायताले उच्च शिक्षाका लागी अध्ययन गर्न सकिने हुँदा खुला विश्वविद्यालयको नतिजा गुणस्तरीय हुने दावी गर्नुभयो ।
विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्माले खुला विश्वविद्यालयबाट उत्कृष्ट जनशक्ति तयार गरेर उदाहरणीय काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । विश्वविद्यालयका डिन प्रा। डा। सिलु मानन्धर बज्राचार्यले समयको आवश्यकता अनुरुप नै खुला विश्वविद्यालयको शुभारम्भ भएको उल्लेख गर्नुभयो ।
खुला विश्वविद्यालयमा विभिन्न संकायमा हाल एमफील, स्नातकोत्तर र स्नातक तह गरेर ६०० जना विद्यार्थीहरु आफ्नो दैनिक काम सँंगसँगै घरबाटै उच्चशिक्षा हासिल गरीरहेका छन् ।
२०७५ भाद्र २३ शनिबार रातको १२ः११ मा पोष्ट भएको
Categorized in राष्ट्रिय