arin enterprises

गथांमुगः घन्टाकर्ण हुँदै होइन

SamacharDesk – विनय राजोपाध्याय | २०७५ श्रावण २४, बिहिबार

हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदाय गथांमुगः पर्व मनाउँछन् । चतुर्दशीलाई नेपालभाषामा चःर्हे भनिन्छ र यो पर्व चतुर्दशीमा मनाइने हुँदा यसलाई गथांमुगः चःर्हे पनि भन्ने गरिन्छ । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरिएको सुनिन्छ । गथांमुगः भनेको घण्टाकर्ण भने हुँदै होइन, । घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ र गथांमुगः छुट्टै विषय हो । 

घण्टाकर्ण भन्ने राक्षस अन्तै कतैको देवता नमान्ने नास्तिक हो । सायद उ भारत, काशीको हुनुपर्छ किनकि त्यहाँ कर्णघण्टा भन्ने पोखरी छ र नजिकै घण्टाकर्णको मूर्ति पनि छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमाडौँ उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्नुका कारणबीच धेरै नै भिन्नता छ ।

रुद्रायमल तन्त्रको कथामा रहेको घण्टाकर्णलाई तानतुन पारेर काठमाडौं उपत्यकाको संस्कृतिमा मिलाएर हेरिँदा त्यस्तो देखिएको मात्र हो । कुनै बेला, अझ भनौं सञ्चार माध्यममा खस समुदायको बर्चश्व रहेको बेला यहाँका स्थानीय नेपाल भाषामा राखिएका स्थान, पर्व आदिका नामलाई सञ्चार माध्यमले आफुखुशी उल्था गरी नेवार भाषामा गं भनेको घण्टा र था भनेको वजाउने वा अड्केको र मुगः भनेको घन यानेकि ह्याम्मर मानेर यो गथांमुगः भनेको घण्टा बजाउने हो र यो घण्टाकर्णसँग नै सम्वन्धित चाड हो भनी फुकिदियो । जस्ले गर्दा यो भ्रम श्रृजना भएको हो । 

आज पनि यही कुरालाई नजिर बनाई आफ्नो मौलिक परम्परालाई पाखा लगाई त्यसैलाई नै अँगीकार गरी बस्न त भएन नि । जबकि यो चाडको नाम गथांमुगः हो गँथामुगः हुँदै होईन । बास्तबमा गथांमुगः भनेको दोबाटो चौबाटो चोक इत्यादी हो । किलागः, प्यंगःथां, नौमुगः, चिकंमुगः, ग्वाःछेँमुगः आदि टोलको नामको अन्तिममा आएका यस्तै गः, थां, मुगःले पनि यो कुराको पुष्टि हुन्छ ।

परापूर्वकालमा नेपालमण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । यहाँ उब्जनी मनग्य हुन्थ्यो । जनसंख्या कम भएको कारणले खेती किसानी सबै भूमिमा गर्न त्यो बेला असम्भब प्रायः थियो । घाम, पानी, असीना, हावा, हुरी केही नभनीसबै भूमिमा खेती किसानी गर्नु मुिश्कलको काम थियो । केही गरी फसल बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न पुर्याउन सकिन्न थियो र अन्न संकट हुनसक्थ्यो । अनि भोकमरीको सम्भावना पनि प्रवल थियो । त्यसैले यो काम मरी मरीकन जसरी भए पनि यहाँका किसानहरुले गर्नु नै पर्दथ्यो । 

भनिन्छ रोपाँइको बेला घरमा कोही ब्यक्ति मरेदेखि त्यस लाशको शतगती समेत नगरी रोपाँइ नसकेसम्म सुकुलमा बेरी एउटा कुनामा थन्क्याउँदै सबै परीवार रोपाईँमा नै ब्यस्त रहन्थ्यो रे । रोपाईँ सकेपछि मात्र बल्ल त्यस लाशको काजक्रिया गरीन्थ्यो रे ऊ बेला । त्यसैले रोपाँइ गर्ने कार्यलाई नेपालभाषामा सिनाज्या भनिन्छ । सिनाको अर्थ मरेर र ज्याको अर्थ काम भन्ने हुन आउँछ । अर्थात मरी मरीकन जसरी भए पनि गर्नु पर्ने काम । साँच्चै यो सिनाज्या भनेको आफ्नो जिउ ज्यानै फालेर गर्नुपर्ने काम थियो । 

माटो सम्याउनु, डल्ला फोर्नु, सिंचाईको लागी कुलो खन्नु आदि इत्यादि किसानी काम साधारण पक्कै होईन । यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम थियो । तर राज्यमा सबै मान्छेहरु बलवान हुंदैनथ्यो । त्यसैले यस्तो काम गर्न भूतको साधना नगरी सम्भव थिएन । यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चढाई यो काम फत्ते गर्नुपर्दथ्यो । 

प्रत्येक सिनाज्या भन्दा पहिले अक्षय तृतीयाभन्दा एक दिन अघि भूत दुकायेगु भनी शहरमा भूतलाई भित्र्याउने काम हुन्थ्यो । अनि यो भूत चढाएको मान्छेको सहायताले सिनाज्या सजिलै गर्न सकिन्थ्यो । सिनाज्या सकिसके पछि यो भूतहरुको कुनै कामै थिएन । त्यसैले यिनीहरुलाई भगाउनु पनि जरुरी थियो । किनकि साधारण मान्छेले भन्दा भूत चढेको मान्छेले एकदमै वढि त काम गर्दथ्यो तर एकदमै धेरै धेरै नै खाना पनि खान्थ्यो । त्यसैले यी भूतहरुलाई बर्षभरी नै पाली राख्न त असम्भब प्रायः थियो । 

भूतहरुलाई सिनाज्या सम्पन्न भएपछि यानेकी भूतहरुवाट चाहिने जति काम लिई सकेपछि यिनीहरुलाई श्रावण कृष्ण चतुदशी अर्थात दिल्लागा चःर्हे गथांमुगः चःर्हेको दिन तान्त्रोक्त बिधिपूर्वक भगाईन्थ्यो ।

अचेल मानव समाजमा उचनीचको विचार हराउँदै गएको समयमा यस्तो भन्ने पनि कम हुँदै गएको छ

गथांमुगः भनेको भूतहरु बस्ने ठाउँ हो, जुन छ्वास (क्षेत्रपाल, चौबाटो) हो । यस दिनमा आ–आफ्नो टोलको छ्वासमा नर्कट बाँसको तिन मुठालाई उठाएर बिहानैदेखि चौबाटोहरुमा ठड्याइन्छ । अनि घरघरबाट भूत भगाएको स्वरुप पुतलीहरु बनाई त्यसमा झुण्ड्याउन पठाईन्छ । 

त्यस नर्कट बाँसको मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टाँसिन्छ । साथै एकजना बालकको शरीरमा मनपरी लेखिन्छ र एउटा दहिको भेगत पनि सो बालकको अगाडि राखिन्छ । जातीय उचनिचको मानसिकता हावी भएको बेला सो बालक तल्लो भनिएको जातको हुनुपर्ने बताइन्थ्यो । तर अचेल मानव समाजमा उचनीचको विचार हराउँदै गएको समयमा यस्तो भन्ने पनि कम हुँदै गएको छ । 

सो बालकलाई टन्न दहि चिउरा खुवाईन्छ र “ॐ शान्ति जय नेपाल, आजु जय हा......“ भन्न लगाउँदै, त्यही खाली दहि भेगतमा पैसा माग्न पठाइन्छ । सो भेगतको हेरविचार भने सोही बालकले राख्नुपर्छ । साँझ परेपछि टोलवासीहरु सबै मिलि विभिन्न तान्त्रिक पुजा गरी दोवाटो वा चौबाटोमा ठड्याएएको नर्कटलाई दहि चिउरा खुवाई एक मुठा पराल बाली मुठालाइ तीनपल्ट परीक्रमा गर्न लगाई त्यसलाई  ढालिन्छ । त्यसैमा उक्त बालकलाई बस्न लगाई टोलवासीहरु सवै मीली तानेर खोलामा मिल्काउन लग्छन् । 

नर्कटलाई खोलामा मिल्काइसकेर सबै मुख धोई घर र्फकने चलन छ । यस दिन भूतहरुसँग यताउति जहाँतहिँ भेट हुन सक्ने भएकोले सबैले अनिवार्य रुपमा फलामको औंठी लगाउनु पर्छ भनिन्छ । फलाम धारण गरेको ब्यक्तिलाई भूतले दूःख दिंदैन भन्ने जनविश्वास छ ।  । बेलुकि पख सबैको घरमा भूत फेरी भित्र आउला भनी ढोकामा तीनखुट्टे किल्ला ठोकी बिशेष पूजा गरी तारण लगाउने काम हुन्छ । यस किल्लालाई स्थानीय नेपालभाषामा प्याकिं भनिन्छ । 

यसपछि घरको मुल ढोका बन्द गरी त्यो रात कोही पनि बाहिर जाँदैनन् । यस दिन यसरी भूत भगाई घरमा शुद्ध गर्दा खेरी घरमा बसिरहेको भूतप्रेतहरु पनि भागेर जान्छ भन्ने जनबिश्वास छ । यसप्रकार गरिने घर शुद्धिलाई गथांमुगः ब्यंकेगु भनेर भनिन्छ । यदि सिनाज्या नसकेको भए सिनाज्या सकेपछि मात्र सो घरमा गथांमुगः ब्यंकेगु गर्ने चलन पनि छ ।

गथांमुगःसँग निकै रोचक किम्वदन्ती जनश्रुतिहरु पनि जोडिएका छन् । यस दिनमा भूत, प्रेत, पिशाचहरु सबैलाई नगर बाहिर धपाउने भएकोले कुबिद्या (बोक्सी बिद्या) सिक्न चाहनेहरु, तान्त्रिकहरु मशानमा गई भूतहरुलाई लोभ देखाई फकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथै आफ्नो तन्त्र शक्तिलाई अझै शशक्त गर्छन् भन्ने कथन पनि समाजमा प्रचलित छ । भनिन्छ वोक्सि विद्यामा तब मात्र पूर्ण पारङ्गत हुन्छ, जब कोहि वोक्शी सानो भई करुवाको माथिको मुखवाट छिरी टुँटीबाट सकुशल वाहिर आउन सक्छ । त्यस्तै अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखि उल्ट्याउन सक्यो भने कुविद्यामा पारङ्गत भएको मानिन्त । 

यस्तो अलौकिक क्षमता हाँसिल गर्न तान्त्रिक तथा बोक्सीहरु यस दिन आफ्नो बिद्यालाई अझै तिखार्न अबश्य पनि मशानमा रहेको शक्तिपीठमा पुग्दछन् । त्यसैले गथांमुगः चःर्हेको रात बोक्सीहरु आफ्नो  बिद्याको शक्तिलाई बढाएर अझै शक्तिशाली हुन मशानको शक्तिपीठमा गई साधना गरी बस्छन् भन्दै हजुरबा, हजुरआमाहरु सुनाउने गर्छन् । 

यस बेला उनीहरुले कुनै ब्यक्तिको भोग दिन सो ब्यक्तिको आत्मा तानेर कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसि बोकालाई जस्तै लघारी डोरीले बाँधी मशानको शक्तिपिठमा घिच्याउँदै लग्छन् र गोलको मासु, बालुवाको चिउरा खुवाई बली दिँदा रहेछन् भनेर पनि समाजका पाका व्यक्तिहरु सुनाउने गर्छन् । यतिसम्म पनि भनिन्छ, यस्तो बलि आफ्नै लोग्नेको दिन सके देखि त्यो बोक्सी जस्तो शक्तिशाली अरु कोही पनि हुन सक्दैन अरे । यसरी हंस तानेको ब्यक्ति छ महिना भन्दा बढि जीउँदो रहन पनि सकिंदैन अरे भन्ने हाम्रो समाजमा बिश्वास रहि आएको छ । 

यस् प्रकारको चित्रहरु हामीले देउपाटनको जयबागीश्वरको मन्दिरमा र पाटनको दरवार स्क्वायर नजिक म्वःमदु द्यः (छिन्नमस्ता)को भित्तामा पनि देख्न सकिन्छ । यस दिन उनीहरु मध्य रातमा हिँड्दाखेरी आफ्नो औंलालाई मैनबत्ति जस्तै बाली बाटो नै उज्यालो बनाउँदै खुट्टा जमीन भन्दा केहीमाथी हावामा टेकि आउँछन् । जस्ले जति वटा औंला बाली आउँछन्, उनीहरु कति जानेका रहेछन् भन्ने थाहा हुन्छ रे 

कतिपय मानिसहरु त यस्ता बोक्सीहरुलाई ठीक गर्नुपर्छ भनी मशानको बाटोमा धुकेर बस्ने र त्यसरी आउनेहरुलाई सास्ती गर्नेहरु पनि हुन्थे रे ऊबेला । यस्तो बेला तान्त्रिकहरु समेत आई, तारण राखेर बोक्सीहरुलाई सास्ती गर्दछन् भनिन्छ । त्यस्तो बेला सास्ती गर्ने भन्दा सास्ती खाने बलिया अनि शक्तिशाली भएदेखि झन उल्टा उनीहरुलाई नै सास्ती गरी भगाएर तन्त्रशक्तिले कहाँ कहाँ पुर्याईदिन्छन् जस्ले गर्दा ति व्यक्ति रात रात भर घर र्फकने बाटो खोज्दै ठिक्क हुन्छन् रे । आफैंले यस्तो अनुभव लिइसकेको बताउने बुढापाकाहरु आज पनि समाजमा भेटिन्छन् । विश्वास गर्ने वा नगर्ने त्यो आफ्नो ईच्छाको कुरा भयो ।

भुत पे्रतको कुरा आजकालको युवालाई अपाच्य होला तर हाम्रो पूर्खाले यसलाई स्वीकारेको छ । किम्वदन्ती, मिथक, कथा, लोककथा जे नाम दियोस्, यस्ता जनश्रुतिहरु नेपालमण्डलको आफ्नै परम्परा हो, संस्कृति हो । आफ्नो मौलिक संस्कृतिमाथि गर्व गर्न सिकौं । कृपया गथांमुगःलाई घण्टाकर्ण भन्ने काम नगरौं । अझ कसै कसैले त गथांमुगःलाइ यो चाडको नाम नै बिगारी गठेमङ्गल पनि भन्ने गरेका छन् । यस्ता विकृतीलाई हाम्रो संस्कृतिमा भित्रिन नदियौं, मौलिकता कायम राखौं, गथांमुगःलाई बाह्य सांस्कृतिक आक्रमणवाट जोगाऔं ।

Categorized in संस्कृति