arin enterprises

‘ट्रेकिङ गाइड खोज तथा उद्धार तालिम’ सम्पन्न

SamacharDesk – बिराज | २०८२ फाल्गुण १८, सोमबार

काठमाडौं । नेपालको साहसिक तथा पर्वतीय पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित तथा दिगो बनाउने उद्देश्यले आयोजना गरिएको ‘ट्रेकिङ आधारित खोज, उद्धार तथा संकट व्यवस्थापन सम्बन्धी आधारभूत तालिम’ सम्पन्न भएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहल अन्तर्गत उक्त तालिम संचालन भएको थियो ।

दिगो पर्यटन परियोजना (एसटीपी) को सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम १० दिनसम्म काठमाडौं तथा विभिन्न फिल्ड अभ्यासमार्फत सम्पन्न गरिएको हो ।

फागुन ८ गतेबाट सुरु भएको तालिमको आइतबार एक समापन समारोहको आयोजना गरी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण थियो ।

समारोहमा टानका अध्यक्ष सागर पाण्डेले ट्रेकिङ पर्यटनमा बढ्दो जोखिम न्यूनीकरण गर्दै व्यावसायिक ट्रेकिङ गाइडहरूको खोज तथा उद्धार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए ।

एसटीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक धर्मराज दवाडीले दिगो पर्यटन विकासका लागि सुरक्षा क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताए ।

तालिमले सुरक्षित ट्रेकिङ वातावरण निर्माण गर्दै नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

तालिममा हिमाली क्षेत्रका सम्भावित जोखिम तथा चुनौतीहरूको पहिचान, खोज तथा उद्धारसम्बन्धी कानुनी संरचना, मानक सञ्चालन प्रक्रिया, आपतकालीन उद्धार उपकरणको प्रयोग लगायतको प्रशिक्षण दिइएको थियो ।

साथमा जीवनरक्षक प्रविधि, प्राथमिक उपचार हिमपहिरो, हिमआँधी, ग्लेशियर जोखिम, जलवायु परिवर्तनजन्य प्रभाव तथा मौसम पूर्वानुमान सम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षार्थीहरूको तर्फबाट अनुभव आदानप्रदान गर्दै तालिमले वास्तविक दुर्घटना व्यवस्थापन, उद्धार समन्वय तथा नेतृत्व क्षमतामा उल्लेखनीय सुधार ल्याएको प्रतिक्रिया व्यक्त गरिएको थियो ।

प्रमुख प्रशिक्षक प्रेमबहादुर गुरुङले हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै दक्ष जनशक्ति विकास आजको आवश्यकता भएको बताए ।

Categorized in बिजनेस