arin enterprises

गायक श्रेष्ठको नयाँ गीत ‘द्यंसा छ’ सार्वजनिक

SamacharDesk – बिराज | २०८२ फाल्गुण १७, आइतबार

नेपालभाषाको गीत ‘सुथसिया निभाः’ गाएर चर्चा कमाएका गायक पुरुषोत्तम श्रेष्ठको नयाँ नेपालभाषाको गीत ‘द्यंसा छ दंसा छ’ सार्वजनिक भएको छ ।

गायक श्रेष्ठ आफैले रचना गरेको यस गीतको म्यूजिक भिडियो अडियो नेपाल युट्युब च्यानलमार्फत आज (आइतवार) सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोमा गायक श्रेष्ठसँगै उनकै अर्धाङ्गिनी रन्जु श्रेष्ठले अभिनय गरेका छन् ।

गीतको छायाङ्कन काठमाडौंको मातातीर्थको साथमा अस्ट्रेलियामा समेत गरिएको छ । गायक श्रेष्ठको मातातीर्थको दृश्य बुद्ध सायमिले छायाङ्गन गरेका छन् भने मोडल कलाकार रन्जुको दृश्यहरु अस्ट्रेलियामा जिमोस गोपालीले छायाङ्कन गरेका हुन् ।

यो गीत आफ्नी अर्धाङ्गिनी रन्जु अस्ट्रेलियामा हुँदा रचना गरेको जानकारी गायक श्रेष्ठले दिए ।

‘रन्जु अस्ट्रेलियामा हुँदा त्यो बेला म यता एक्लै थिएँ, त्यो बेलाको भावना मैले शब्दमा पोखेको हो । भिडियोमा पनि त्यहि समयको मेरो फिलिंग्स मा नेपालमा एक्लै बसी आफ्नी प्रियसीलाई सम्झिरहेको भावना देखाइएको छ’ श्रेष्ठले भने ।

गीतमा संगीतकार शिव शाहिको संगीत र संगीत संयोजन रहेको छ । दृश्य सम्पादन बुद्ध सायमिले गरेका छन् ।

गायक श्रेष्ठको यस अघि नेपालभाषाको गीत ‘सुथसिया निभाः’सँगै नेपाली गीतहरु गायिका संगीता दाहालसँग ‘अयलाःको शितल नसासँगै’ र गायिका रेखा श्रेष्ठसँगको युगल गीत ‘मेरो नेपाल हाम्रो नेपाल’ सार्वजनिक भइसकेको छ ।

Categorized in पेजथ्री